आयरल्याण्डमा समलैंगिक विवाहलाई मान्यता

  • 23 मे 2015
तस्वीर कपीराइट Getty
Image caption अन्तिम नतीजा शनिबार अबेरसम्म आइपुग्ने बताइएको छ

आयरल्याण्डमा भएको एक ऐतिहासिक जनमत संग्रहमा समलैंगिक विवाहलाई कानुनी मान्यता दिने पक्षमा धेरै मत खसेको प्रारम्भिक संकेत मिलेको छ।

समलैंगिक महिला वा पुरुषका जोडीलाई कानुनत: विवाह गर्न दिन देशको संविधान संशोधन गर्नु ठिक छ वा छैन भनेर ३२ लाखभन्दा धेरै मानिसहरुलाई जनमत संग्रहमा सोधिएको थियो।

पहिलो

जनमत संग्रह पश्चात सरकारका मन्त्रीहरुले प्रस्ताव पारित भएको विश्वास व्यक्त गरेका छन् भने त्यस्तो विवाह उचित छैन भन्ने अभियानकर्मीहरुले हार स्वीकार गरेका छन्।

अन्तिम नतिजा शनिबार अबेरसम्म आइपुग्ने बताइएको छ।

अन्तिम नतिजाले प्रारम्भिक संकेतजस्तै परिणाम दिएको खण्डमा आयरल्याण्ड पहिलो यस्तो मुलुक हुनेछ जसले समलैंगिक विवाहलाई मतदानमार्फत कानुनी मान्यता दिएको होस्।

आयरल्याण्डका समानता सम्बन्धी मन्त्रीले ट्वीटरमा उक्त प्रस्ताव पारित भएको उल्लेख गरेका छन्।

आयरल्याण्डमा समलैंगिक गतिविधिलाई अपराध ठहर्याउने खालका कानुनहरु खारेज गरिएको २२ वर्षपछि उक्त जनमत संग्रह गरिएको छ।

सन् २०१० मा आइरिश सरकारले सिभिल पार्टनरशीप सम्बन्धी कानुन ल्याएको थियो जसले समलैंगिक जोडीलाई कानुनी मान्यता दिएको थियो।

तर सिभिल पार्टनरशीप र विवाहमा धेरै भिन्नता हुन्छ किनकि विवाहलाई संवैधानिक संरक्षण प्राप्त हुन्छ जबकि सिभिल पार्टनरशीपलाई हुँदैन।

हाल विश्वभरका १९ देशहरुमा समलैंगिक विवाहलाई कानुनी मान्यता प्राप्त छ।