थुनिएको कालीगण्डकी बग्न शुरु

  • 24 मे 2015
तस्वीर कपीराइट Dhruba Sagar Sharma
Image caption ठूल्ठूला भूकम्पपछि निरन्तर आउने झट्काहरुले पहाडहरुमा पहिरो जाने र नदीहरु थुनिन सक्ने बैज्ञानिकहरुले बताएका थिए (तस्वीरहरु: ध्रुवसागर शर्मा, म्याग्दी)

पहिरोका कारण १५ घण्टा भन्दा बढी समयदेखि थुनिएको कालीगण्डकी नदी आईतबार साँझबाट तीव्र वेगले बग्न शुरु भएको छ।

पश्चिम नेपालको म्याग्दी जिल्लामा कालीगण्डकी नदी थुनिएको करीब पन्ध्र घण्टापछि ढुंगा र माटो थुप्रिएको कृत्रिम बाँध माथिबाट पानीको बहाव शुरु भएको हो।

नदीले कृत्रिम बाँध कटान गरेर अपरान्ह पाँच बजेपछि ठूलो बहाव शुरु भएको अधिकारीहरुले जानकारी दिएका छन्।

शनिबार राती दुई बजेतिर म्याग्दीको सदरमुकाम बेनीबजारबाट ९ किलोमिटर उत्तरस्थित राम्चे गाविसबाट आएको पहिरोले नदी थुनिएको थियो।

सतर्कता

अधिकारीहरुले पहिरोले नदी थुनिएपछि बेनीबजार लगायत तल्लो तटीय क्षेत्रमा सुरक्षा सतर्कता बढाउनुका साथै उच्च जोखिमयुक्त कतिपय वस्ती खाली गराइएको बताए।

हालै गएको विनाशकारी भूकम्पपछि कमजोर भएको भूभाग राम्चे गाउँ विकास समितिबाट आएको सुख्खा पहिरो खसी कालीगण्डकीको गल्छी थुनिएपछि विशाल जलाशय बनेको थियो।

यसले गर्दा म्याग्दी, बागलुङ, पर्वत, स्याङजा, पाल्पा, गुल्मी, नवलपराशी र चितवन जिल्लाको तल्लो तटीय क्षेत्रमा बाढीको संभावनाबारे सतर्क गराइएको अधिकारीहरुले जनाए।

शुक्रवारदेखि नै त्यस क्षेत्रमा सानोतिनो पैह्रो चल्न थालेपछि स्थानीय वासिन्दाहरुलाई सुरक्षित स्थानमा सारिएको क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख पंकज श्रेष्ठले जानकारी दिए।

“वास्तवमा यहाँ शुक्रबारको रातीबाटै पहिरो जान शुरु भएको थियो। त्यसैले हामीले उच्च जोखिममा रहेका २६ घरपरिवारका १२३ जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरी पाल र खाद्यान्नको समेत प्रबन्ध मिलाइसकेका थियौं,” श्रेष्ठले बताए।

लगातार पहिरो

प्राविधिकहरुको टोलीले आइतबार हवाइ निरीक्षण गरे पनि लगातार पैह्रो आइरहेका कारण तत्काल पानीको सुरक्षित निकासको उपाय अपनाउन सकिएको थिएन।

सुरक्षा निकाय र विज्ञहरुको टोली बाँध बनेको ठाउँ नजीक क्याम्प खडा गरेर पानीको सुरक्षित निकास गर्ने उपायको खोजीमा रहेका थिए।

जनधनको ठूलो क्षति हुने गरी गत वर्ष सिन्धुपाल्चोकको जुरेमा गएको पैह्रोको स्मरण कालीगण्डकी नदी थुनिएको घटनाले गराएको छ।

कृत्रिम बाँध फुटेमा भूकम्पपछि अर्को विपद निम्तने त्राश मनमा लिएका सर्वसाधारण नदीको सुरक्षित बहावको प्रतीक्षामा छन्।

पहाडी जिल्ला म्याग्दीमा पहिरोले कालीगण्डकी नदी थुनिएर बनेको तालको गहिराइ र आकार बढिरहेको बताइएको छ।