राष्ट्र बैंकबाट ऋणपत्र जारी

  • 26 मे 2015
Image caption ३५ अर्बको विकास ऋणपत्र मध्ये राष्ट्र बैंकले पाँच अर्ब बराबरको जारी गरेको हो

मुलुकको केन्द्रीय बैंकले भूकम्प पछिको पुनर्निर्माणका लागि रकम जुटाउने सरकारी योजना अनुसार देश भित्रैबाट पौने ५३ अर्ब रुपैयां संकलन गर्नका लागि भन्दै मंगलबारबाट ऋणपत्र जारी गरेको छ।

जेठ र असारमा गरी विभिन्न चरणमा राष्ट्र बैंकले जारी गर्ने ऋणपत्र तथा बचतपत्रहरु सर्वसाधारण, बैंक तथा वित्तीय संस्थाहरु, लगानीकर्ताहरु लगायतले खरिद गर्न सक्नेछन्।

निश्चित ब्याजदर दिइ सरकारले देशभित्रै ऋण संकलन गरेर आफ्ना विभिन्न योजनाहरुका लागि स्रोत जुटाउन ऋणपत्र तथा बचतपत्रलाई माध्यमका रुपमा पटकपटक प्रयोग गर्ने गरेको छ।

चालू आर्थिक वर्षमा खर्च सुस्त भएपछि ८० देखि ९० अर्ब रुपैयांको बचत रहन गएको स्थितिमा अधिकारीहरु यसपटक आन्तरिक ऋण नलिने मनस्थितिमा थिए।

तर वैशाख १२ को मुख्य भूकम्प र त्यसपछिका धक्काहरुले व्यापक क्षति गरेपछि पुनर्निर्माणका लागि आन्तरिक ऋण संकलन गर्ने सरकारी निर्देशन अनुसार राष्ट्र बैंकले प्रक्रिया थालेको हो।

रकम आवश्यक

राष्ट्र बैंकका प्रवक्ता मीनबहादुर श्रेष्ठले भने, "भूकम्पपछिको पुनर्निर्माणका लागि ठूलो रकम लाग्ने देखिन्छ। यो वर्ष बचत राखेर अर्को वर्ष खर्च गर्ने गरी यो आन्तरिक ऋण संकलनको काम अघि बढाइएको हो।"

सरकारले दुई खर्ब रुपैयांको बेग्लै पुनर्निर्माण कोष खडा गर्ने निर्णय गरेको छ जसमा २० अर्ब आफैले राख्ने र बांकी आन्तरिक तथा वैदेशिक ऋण, अनुदान लगायतबाट जुटाउने उसको योजना छ।

कुल गार्हस्थ उत्पादनको तीन प्रतिशतसम्म आन्तरिक ऋण लिन पाउने प्रावधान अनुसार पौने ५३ अर्ब रुपैयां संकलन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।

प्रवक्ता मीनबहादुर श्रेष्ठले भने, "५२ अर्ब ७५ करोड मध्ये ३५ अर्ब विकास ऋणपत्रबाट, १५ अर्ब ट्रेजरी बिलबाट, नागरिक बचतपत्रबाट २ अर्ब ५० करोड र वैद्धेशिक रोगजार बचतपत्रबाट २५ करोड उठाउने योजना छ।"

३५ अर्बको विकास ऋणपत्र मध्ये मंगलबार राष्ट्र बैंकले पाँच अर्ब बराबरको जारी गरेको हो।

यसरी जारी हुने ऋणपत्र तथा बचतपत्रमा निश्चित अवधि हेरी ब्याजदर ८ देखि १० प्रतिशत वा बोलकबोलबाट तय गरिने अधिकारीहरुले बताएका छन्।