काठमाण्डूका अस्पतालमा घाइतेको चाप घट्दै

  • 27 मे 2015
भूकम्पपछि एक घाइते
Image caption भूकम्पपछि काठमाण्डूका कयौं अस्पतालहरुमा बेडहरु थप गर्न व्यवस्था मिलाइएको थियो

भूकम्पका कारण घाइते भएकाहरुका लागि सरकारले वैकल्पिक व्यवस्था गरेपछि १ महिना सम्म भूकम्पकमा परि घाइते भएकाहरुको उपचारमा मात्रै व्यस्त रहेका राजधानीका अस्पतालहरु नियमित उपचारका फर्किने भएका छन्।

सामान्य घाइतेहरु उपचार पछि फर्कि सकेको र लामो समयसम्म उपचार गराउनु पर्ने घाइतेहरुका लागि राजधानी भित्रै र केही प्रभावित जिल्लामै थप उपचारको व्यवस्था मिलाइएको सरकारी अधिकारीहरुले बताएका छन्।

वैशाख १२ गते आएको भूकम्प र त्यसपछि आएका पर कम्पनमा परि घाइते भएकाहरुले खचाखच भरिएका राजधानीका अधिकांस अस्पताल विस्तारै खाली हुँदै गएका छन्।

धेरै जसो घाइतेहरु उपचार गरेर आफ्नो घर फर्कि सकेको अस्पतालहरुले जनाएका छन्।

नियमित

तर सल्यक्रिया गरेका र लामो समयसम्म राखेर उपचार गराउनु पर्ने बिरामीहरु अस्पतालमै रहेका कारण अस्पतालहरुले गर्ने नियमित उपचारको काम प्रभावित भएको थियो।

त्यसैले सरकारले लामो समयसम्म उपचार गराउनु पर्ने घाइतेहरुका लागि बैकल्पिक व्यवस्था अन्य अस्पतालहरुलाई नियमित उपचारको काममा फर्किने व्यवस्था मिलाएको विपद् व्यवस्थापनका लागि केन्द्रिय समन्वय समितिका प्रवक्ता डा. गुणराज लोहनीले बताए।

उनले भने, “विस्तारै अस्पतालहरुले आफ्नो सेवा सुरु गरि रहेका छन्, हामीहरुले भूकम्पका कारणका घाइतेहरु सार्दै छौं। अब नियमित रुपमा कामहरु शुरु हुन्छ।”

प्रवक्ता डा. लोहनीले भूकम्पका कारण घाइते भएर लामो समय उपचार गराउनु पर्ने बिरामीहरुका लागि काठमाण्डूको किर्तिपुर स्थित आयुर्वेदिक अस्पताल लगायत देशका अन्य अस्पतालमा बेड थप गरेर राखिने व्यवस्था मिलाइएको बताए।

पुन:निर्माण

भूकम्पका कारण धेरै अस्पतालहरुमा भौतिक क्षति पुगेको थियो।

त्यस्ता अस्पतालहरुको मर्मत र पुन:निर्माणको काम भइरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ।

देशकै सबै भन्दा पुरानो वीर अस्पतालको मर्मत र पुन:निर्माणका लागि बजेट निकासा भइसकेको बताइएको छ।