ब्लाटर पाँचौ कार्यकालकालागि निर्वाचित

  • 28 मे 2015
ब्लाटर तस्वीर कपीराइट Reuters
Image caption ब्लाटरले भ्रष्टाचार प्रकरणले फिफाको विश्वसनीयतामाथि प्रश्नचिन्ह लागेको स्वीकारेका थिए

विश्व फुटबलको प्रशासकीय निकाय फिफाका विवादित अध्यक्ष सेप ब्लाटर पाँचौं कार्यकालका लागि विजयी भएका छन्।

स्वीजर्ल्याण्डमा भैरहेको फिफाको अधिवेशनमा एकमात्र प्रतिद्वन्द्वी राजकुमार अलि प्रतिस्पर्द्धाबाट बाहिरिए पछि फिफाका विवादित अध्यक्ष सेप ब्लाटर सो संगठनको अध्यक्षमा पुन: निर्वाचित भएका हुन्।

यसअघि अधिवेशनलाई संबोधन गर्दै ७९ वर्षीय ब्लाटरले अधिवेशनमा भाग लिनआएका प्रतिनिधिहरुलाई आफुलाई फेरि निर्वाचित गर्न आह्वान गरेका थिए।

'राजनीति प्रेरित'

उनले दुई दिनअघि फिफाका वरिष्ठ अधिकारीहरुलाई पक्राउ गरिएको घटना राजनीति प्रेरित हुनसक्ने बताउँदै आफुले फिफाको इज्जत पुनर्बहाली गर्ने बताएका थिए।

ब्लाटरले भने, “जसमाथि दोष लगाइएको छ, वा ती जसले गल्ती गरेका छन्, यदि उनीहरु दोषी ठहराइए भने पनि उनीहरु व्यक्ति मात्रै हुन्। उनीहरु पुरै संगठन होइनन्।”

ब्लाटरका एकमात्र प्रतिद्वन्द्वी जोर्डनका राजकुमार अलि बिन अल हुसेनले फिफालाई भ्रष्टाचारमुक्त गर्ने नेतृत्व आफुले मात्र दिनसक्ने बताएका थिए।

पहिलो चरणको मतदानमा कूल २०९ मतदातामध्ये उनले ७३ मत प्राप्त गरेका थिए।

मतदान

फिफाको विधान अनुसार पहिलो चरणमा कुनै पनि उम्मेदवारले दुई तिहाइ मत प्राप्त गर्न नसकेमा दोश्रो चरणको मतदान गराउनुपर्ने हुन्छ।

तर दोश्रो चरणको मतदान हुनुअघि नै राजकुमार अलिले आफुले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए।

गत बुधबार संयुक्त राज्य अमेरिकाको न्याय मन्त्रालयले फिफाका वरिष्ठ अधिकारीहरु विरुद्ध धोखाधडी तथा मुद्रा अपचलन लगायतका अभियोगहरु दर्ता गरेपछि स्वीस प्रहरीले फिफाका सातजना वरिष्ठ अधिकारीहरुलाई जुरिखमा पक्राउ गरेको थियो।

अमेरिकी न्याय मन्त्रालयले उनीहरु विरुद्ध गएको दुई दशकभन्दा बढी अवधिमा पन्ध्र करोड डलर भन्दा बढी रकम घुस लिएको तथा भ्रष्टाचार गरेको अभियोग लगाएको छ।

उनीहरुलाई अमेरिका सुपुर्दगी गर्न सकिने संभावना रहेको विभिन्न समाचारहरुमा जनाइएको छ।