भूकम्पपछि अझै २७६ हराइरहेका: प्रहरी

  • 29 मे 2015
nepal तस्वीर कपीराइट .
Image caption हराइरहेकाहरुका आफन्तहरुले उनीहरुको खोजखबर छिटै गर्न सरकारलाई आग्रह गरिरहेका छन्

एक महिना अगाडिको भूकम्प र पहिरोका कारण अझै २७६ जना मानिसहरु हराइरहेको नेपाल प्रहरीले जनाएको छ।

भूकम्प र त्यसपछिका पहिरोहरुका कारण हालसम्म २७६ जना मानिसहरु अझै हराइरहेको नेपाल प्रहरीले जनाएको छ।

एक महिना अगाडिको भूकम्प र त्यस लगत्तै गएका पहिरोहरुका कारण हालसम्म मर्नेहरुको संख्या ८६८० नाघेको छ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी कमलसिंह बमले भने, “अहिलेसम्म हामीलाई दिइएको जानकारी अनुसार ४११ हराइरहेका भन्ने थियो। तर हामीले ती मध्ये १३५ जनाको अवस्था पत्ता लगाइसक्यौं। जसमध्ये केहीको शव फेला परेको थियो। अब पछिल्लो आँकडा अनुसार अझै हराइरहेकाहरुको संख्या चाहिं २७६ छ, जसमध्ये ८० जना विदेशी छन्।”

रसुवाबाट धेरै

हराइरहेकाहरु मध्ये धेरै रसुवाको लाङ्गटाङ्ग पहिरोका कारण रहेका छन्।

सो जिल्लाबाट १०५ हराइरहेका छन्। त्यस्तै सिन्धुपाल्चोकबाट ३७ जना हराइरहेका छन्। काठमाण्डौंबाट हराउनेको संख्या १३ रहेको छ।

विदेशी मध्ये फ्रान्सका सबैभन्दा धेरै २२ जना हराइरहेका छन्।

“विशेषगरी रसुवाको लाङ्गटाङ्ग क्षेत्र अनि हाकु गाविसबाट पहिरो र हिमपहिरोमा परी धेरै हराइरहेको देखिन्छ।

गोरखाबाट पनि २१ जना हराइरहेका छन्। दोलखाको खासगरी सिंगटी क्षेत्रबाट १९ जना हराइरहेका छन्,” उनले भने।

खोजखबर जारी

ती हराइरहेकाहरुको वास्तविक आँकडा र खोजखबरको तालमेल मिलाउन नेपाल प्रहरीले केन्द्रदेखि प्रभावित गाउँहरुसम्मै खास संरचना खडा गरेको प्रहरी प्रवक्ताले जनाए।

“यस सन्दर्भमा हामीले प्रहरी प्रधान कार्यालयमा मिसिङ्ग पर्सन्स डेस्क एकजना एसएसपीको कमाण्डमा खडा गरेका छौं।

प्रभावित जिल्लाहरुमा पनि मिसिङ्ग पर्सनको विवरण संकलन गर्न अधिकृतहरु नै खटाएका छौं।”

हराइरहेकाहरुका आफन्तहरुले भने उनीहरुको खोजखबर शीघ्र गराइदिन सरकारलाई निरन्तर आग्रह गरिरहेका छन्।