सन्चारमाध्यमहरुले बढाइचढाइ गरे: ब्लाटर

  • 30 मे 2015
ब्लाटर तस्वीर कपीराइट AFP
Image caption ब्लाटरले फिफालाई अगाडि बढाउन आफु नै उपयक्त भएको बताए

विश्व फुटबलको प्रशासकीय निकाय फिफाका अध्यक्ष सेप ब्लाटरले आफ्ना आलोचकहरुमाथि कडा हमला गर्दै भ्रष्टाचारका आरोपहरुको खण्डन गर्दै सन्चारमाध्यमहरुले संकटलाई बढाइचढाइ गरेको आरोप लगाएका छन्।

एउटा खचाखच भरिएको पत्रकार सम्मेलनलाई शनिबार संबोधन गर्दै उनले तीन दिन अघि सातजना वरिष्ठ फिफा अधिकारीहरु ज्युरिखमा पक्राउ परेको घटना संयोग नभएको दावी पनि गरे।

विश्व फुटबलको प्रशासकीय निकाय फिफाका अध्यक्ष सेप ब्लाटरले भ्रष्टाचारको आरोप खेपिरहेको संगठनलाई अगाडि बढाउन आफुनै सही व्यक्ति भएको बताएका छन्।

फिफाको अधिवेशनले पाँचौं पटक अध्यक्षमा चुनेको भोलिपल्ट उनले त्यस्तो बताएका हुन्।

पक्राउ

स्वीस शहर ज्युरिखमा एउटा खचाखच भरिएको पत्रकार सम्मेलनलाई संबोधन गर्दै ब्लाटरले गत बुधबार सातजना वरिष्ठ फिफा अधिकारीहरु ज्युरिखमा पक्राउ परेको घटना संयोग नभएको दावी गरे।

सोही दिन संयुक्त राज्य अमेरिकाको न्याय मन्त्रालयले फिफाका कैयौं वरिष्ठ अधिकारीहरु विरुद्ध धोखाधडी तथा मुद्रा अपचलन लगायतका अभियोगहरु दर्ता गरेको थियो।

तर ७९ वर्षीय ब्लाटरले ती अमेरिकी महादेशमा सकृय एउटा व्यापारिक कम्पनीसंग संबन्धित विषय भएको बताए।

उनले यसबाट फिफालाई सिधै असर नपर्ने दावी पनि गरे।

ज्युरिखको एक पाँच तारे होटलमा सम्पन्न फिफा अधिवेशनमा एकमात्र प्रतिद्वन्द्वी राजकुमार जोर्डनका राजकुमार अलि बिन अल हुसेन प्रतिस्पर्द्धाबाट बाहिरिए पछि फिफाका विवादित अध्यक्ष सेप ब्लाटर सो संगठनको अध्यक्षमा पुन: निर्वाचित भएका हुन्।

पहिलो चरणको मतदानमा कूल २०९ मतदातामध्ये राजकुमार अलिले ७३ मत प्राप्त गरेका थिए।

ब्लाटरलाई १३३ मुलुकका प्रतिनिधिहरुले समर्थन गरेका थिए।

छानबिन

जेनेभास्थित बीबीसी संवाददाता इमोजेन फोक्स भन्छिन्, फिफा र त्यसका अधिकारीहरु विरुद्ध अमेरिकी तथा स्वीस अभियोक्ताहरुले भ्रष्टाचार तथा घुसखोरी लगायतका प्रकरणमा छानबिन गरिरहेका छन्।

यद्यपि उनी भन्छिन्, ब्लाटरलाई एसिया र अफ्रिकी मुलुकहरुले व्यापक समर्थन गरेका थिए।

आउँदो सन् २०१८ मा विश्वकप फुटबल आयोजना गर्न लागेको मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार एक टेलिग्राम पठाएर उनलाई बधाइ दिएका छन्।

तर विश्लेषकहरु भन्छन्, संसारकै सबैभन्दा धनी तथा शक्तिशाली खेल संगठन ठानिने फिफाको छवि भ्रष्टाचार संबन्धी पछिल्लो विवादका कारण नराम्रोसंग धमिलिएको छ।