सत्तारोहणबारे तराई केन्द्रित दलबीच मतभेद

  • 1 जुन 2015
तस्वीर कपीराइट upendra yadav facebook
Image caption मधेशी जनाधिकार फोरमका उपेन्द्र यादव सत्ता बाहिरै बस्नुपर्ने पक्षमा छन्

राष्ट्रिय सरकार गठनको चर्चा चलिरहँदा सरकारमा जाने वा नजाने विषयमा तराई केन्द्रित दलहरुबिच फरक-फरक धारणा रहेको देखिएको छ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलहरुले संविधान नबनेसम्म सरकारमा नजाने निर्णय गरेको भएपनि भूकम्पपछि विकसित पछिल्लो परिस्थितिमा आफ्नो अडानमा परिवर्तन गर्नुपर्ने मोर्चासम्बद्ध केही नेताले बताएका छन्।

तर कतिपयले भने पुरानो निर्णय यथावत रहनुपर्ने जिकिर गरेका छन्।

सहमतिमा संविधान बन्नुपर्ने र संविधान नबनेसम्म सरकारमा नजाने अडान राखेर आन्दोलन गरीरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र अहिले सरकारमा जानुपर्ने आवाज सुनिन थालेको छ।

अडान

विजयकुमार गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले मोर्चाभित्र यसको नेतृत्व गरेको छ।

उक्त पार्टीका उपाध्यक्ष जितेन्द्र देवले भने, “यतिबेला हामीले कार्यनीतिक अडान परिवर्तन गरेर मित्रताको हात बढाउनुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता हो।”

मधेसी मोर्चा समेत आबद्ध भएको ३० दलीय मोर्चाको बैठकमा आइतबार एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सरकारमा जानेबारे प्रस्ताव राखेका थिए।

सोमबार फेरि सोही विषयमा छलफलका लागि ३० दलीय मोर्चाको बैठक बस्ने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए।

भागबण्डा

उनले प्रतिपक्षमै बसेर काम गर्न प्रचण्डलाई सल्लाह दिएको बताए।

यद्यपि सरकारमा जाने विषयमा महतो केही नरम देखिएपनि मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भने सरकारमा जानै नहुने पक्षमा उभिएका छन्।

उनले भने, “सरकारको खेलमा लागेपछि झन बढी विकृति आउँछ, विदेशले दिएको अनुदानहरु गायब हुन्छन्, भागबन्डाका कुरा आउलान्, मन्त्री बन्ने र नबन्नेका कुरा आउलान्, झमेलामा मुलुक फस्छ, पहिलो प्राथमिकता, अहिले तत्काल भूकम्प पीडितलाई राहत र पुनर्स्थापना गर्ने र दोस्रो प्राथमिकता संविधान निर्माण गर्ने हो।”

भूकम्प पीडितलाई राहत र संविधान निर्माणलाई बढी प्राथमिकतामा राखिनुपर्नेमा सरकार गठनको विषय उठाउँदा आफ्नो मुद्दा कमजोर हुने भन्दै आठ दल सम्मिलित मधेसी मोर्चाभित्र विमति बढेको बताइन्छ।