राहतमा पौने ८ अर्ब रुपैँया खर्च: सरकार

  • 2 जुन 2015
तस्वीर कपीराइट AFP
Image caption राहत वितरणमा अनियमितता भइरहेको भन्दै आलोचना भइरहेको छ।

बैशाख १२ गते र त्यस यताका विनाशकारी भूकम्पका पीडितहरुको राहत र अस्थायी अावास निर्माणमा पौने आठ अर्ब रुपैयाँ भन्दा बढी रकम खर्च भइसकेको सरकारले बताएको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट हालसम्म आठ अर्ब रुपैयाँ प्राप्त भएको र थप पाँच अर्ब रुपैयाँ सोमबार माग गरिएको गृहमन्त्रालयले जनाएको छ।

जिल्ला दैवी प्रकोप उद्दार समितिलाई उपलब्ध गराइएको उक्त रकमको अधिकांश हिस्सा भूकम्पका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई तत्कालिक राहत र अस्थायी आवास निर्माणका लागि सहयोग उपलब्ध गराउन खर्च भएको अधिकारीहरु बताउँछन्।

हालसम्म केन्द्रीय दैवी प्रकोप कोषमा जम्मा गरिएको आठ अर्ब रुपैँया मध्य सोमबारसम्म पौने आठ अर्ब रुपैँया भूकम्प प्रभावित जिल्लाहरुलाई उपलब्ध गराइएको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बीबीसीलाई बताए।

व्यवस्थापन

उनले भने, "केन्द्रीय दैबी प्रकोप उद्दार कोषलाई ८ अर्ब रुपैँया उपलब्ध भएको छ। त्यसमध्य अहिलेसम्म विभिन्न जिल्लामा ७ अर्ब ८५ करोड ८३ लाख रुपैँया गइसकेको छ।"

उक्त रकमबाट भूइँचालोमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई काज किरिया खर्च वापत ४० हजार रुपियाँ र राहत स्वरुप एक लाख रुपियाँ र अस्थायी आवास निर्माणका लागि जस्ता खरिद गर्न प्रति परिवार १५ हजार रुपियाँ उपलब्ध गराइएको गृहमन्त्रालयले जनाएको छ।

भूकम्पका झण्डै साढे तीन हजार जनाको ज्यान गएको सिन्धुपाल्चोकमा सबैभन्दा बढी ७७ करोड रुपैंया निकासा भएको सरकारी विवरणमा उल्लेख छ।

माग

त्यसपछि बढी खर्च भएका जिल्लामा काठमाण्डू र नुवाकोट रहेका छन्।

आफूलाई उपलब्ध गराइएको रकम मध्ये अधिकांश रकम जिल्लाहरुमा पठाइसकेको भन्दै राहतका लागि थप ५ अर्ब रुपैँया निकासा गर्न गृहमन्त्रालयले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषसँग माग गरेको छ।

त्यसका लागि आफूहरुले सरकारलाई पत्राचार गरेको विपद् व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दंगालले बताए।