दिल्लीमा १५ दिनसम्म म्यागी बिक्रीमा प्रतिबन्ध

  • 3 जुन 2015
Image caption शिशा मिसिएको यस्तो चाउचाउ निरन्तर खाइरहँदा त्यसले स्नायु प्रणालीमा असर गर्ने विज्ञहरुले बताएका छन्।

भारतको राजधानी दिल्ली र उत्तर प्रदेश राज्यमा परीक्षण गरिएका म्यागी तयारी चाउचाउमा उच्च मात्रामा शिशाको धुलो पाइएपछि त्यहाँको निकायले बिक्रीमा रोक लगाएको हो।

खाद्य सुरक्षामा त्रास बढिरहेका बेला सरकारले देशैभर नमुनाहरु परीक्षण गर्न निर्देशनसमेत दिइसकेको छ।

दिल्लीका खाद्यसामग्रीका केही ठूला पसलहरुले बिक्रीका लागि राखिएका त‌ी चाउचाउहरु हटाइसकेका छन्।

म्यागी उत्पादक नेस्ले इण्डियाले आफूले उत्पादन गरेको चाउचाउ असुरक्षित र अस्वस्थ रहेको भन्ने भनाइलाई अस्वीकार गरेको छ।

सुरक्षित

हालै जारी एउटा विज्ञप्तिमा नेस्लेले चाउचाउको आन्तरिक र बाह्य परीक्षण गर्दा खानका लागि सुरक्षित भनि ठह-याइएको नमुना आफूसँग सुरक्षित रहेको बताएको छ।

नेस्लेले वार्षिक रुपमा म्यागी चाउचाउमात्रै झन्डै १५ अर्ब भारतीय रुपैँया बराबर बिक्री गर्छ।

म्यागी स्कुल र कलेजका विद्यार्थी माझ निकै लोकप्रिय छ।

नेस्लेले पकाउन छिटो हुने चाउचाउ भन्दै गर्ने गरेको ‘टु मिनेट’ को विज्ञापनले यसलाई घरघरमा परिचित नाम बनाइदिएको छ।

विवाद

अमिताभ बच्चन, माधुरी दीक्षित र प्रीति जिन्टा जस्ता भारतका चर्चित कलाकारहरु म्यागीको विज्ञापनमा देखापरेका छन्।

अघिल्लो महिना उत्तर प्रदेशमा दुई दर्जन चाउचाउका प्याकेटको ल्याब परीक्षण गरेपछि म्यागी विवादको केन्द्रमा परेको थियो।

उक्त परीक्षणमा म्यागीमा प्रयोग गर्न पाइने भन्दा सात गुणा बढी शिशा प्रयोग भएको पाइएको थियो।

दिल्ली सरकारले आफ्ना खाद्य अनुगमनकर्ताले गरेको परीक्षणमा १३ वटा प्याकेट मध्ये १० वटामा धेरै मात्रामा शिशा पाइएको बताएपछि बुधबार बम्बे स्टक ऐक्सचेन्जमा नेस्लेको शेयर मूल्य १० प्रतिशत भन्दा बढी घटेको छ।

मौका

खाद्य तथा उपभोक्ता मन्त्रालयका अधिकारी जी गुरुचरणले एएफपी समाचार संस्थालाई भने, “हामीसँग परीक्षणका सबै नतिजा आउने बित्तिकै हामी नेस्ले कम्पनीलाई स्पष्टीकरणको मौका दिन्छौं।”

म्यागीका नमुनाको देशैभरबाट परीक्षण भइरहेको भन्दै त्यसमा एक/एक गर्दै नतिजा आइरहेको उनले बताए।

अधिकारीहरुका अनुसार पाँचवटा नमुनामा मोनोसोडियम ग्लुटामेट (एमएसजी) पनि पाइएको छ, जुन सुप, मासु र चिनियाँ खानेकुरामा स्वाद बढाउन प्रयोग हुन्छ।

विज्ञहरुका अनुसार एमएसजीको अत्यधिक प्रयोगले टाउको र छाती दुख्ने अनि वाकवाकी लाग्ने हुन्छ।

परिक्षण

तर कम्पनीले भने आफूले एमएसजी प्रयोग नगरेको बताएको छ।

उसले यदि चाउचाउमामा त्यस्तो पदार्थ पाइए त्यो प्राकृतिक रुपमा आफै उत्पन्न भएको हुनसक्ने बताएको छ।

यसैबीच दक्षिणी राज्य केरलामा सरकारद्वारा सञ्चालित एक हजार भन्दा बढी पसलहरुले म्यागी बेच्न छोडिसकेका छन्।

रिपोर्टहरुका अनुसार गोवा, हरियाणा, गुजरात, कर्नाटक, तामिलनाडु लगायतका अन्य राज्यहरुले पनि म्यागी चाउचाउको परीक्षणका लागि माग गरेका छन्।