फिफा भ्रष्टाचारका विषय खोल्छु: पूर्व उपाध्यक्ष

  • 4 जुन 2015
तस्वीर कपीराइट AFP
Image caption फिफाका अध्यक्ष सेप ब्लाटरले भ्रष्टाचारको विषय चर्चामा आएपछि निर्वाचित भएलगत्तै पदबाट राजनीमाको घोषणा गरेका थिए।

विश्व फुटबल महासंघ फिफाका पूर्व उपाध्यक्ष ज्याक वार्नरले उक्त संस्था भित्रका भ्रष्टाचारका काण्डहरुबारे आफुलाई थाहा भएका सबै कुरा अनुसन्धानकर्ताहरुलाई बताइदिने भनेका छन्।

अमेरिकी अधिकारीहरुले फिफा काण्डमा मुछिएको भनि मुद्दा लगाएकामध्ये वार्नर पनि प्रमुख हुन्।

फिफा र फिफाको आर्थिक स्रोतसंग आफू जोडिएका विषय दर्शाउने दस्तावेज वकिलहरुलाई उपलब्ध गराइसकेको बताएका छन्।

वार्नरले फिफा अध्यक्ष सेप ब्लाटरसंग आफ्ना कारोबारबारे सम्पूर्ण खुलासा गरिदिने वाचा गरेका छन्।

राजीनामा

तर फिफा र ब्लाटरले कुनै गल्ती नगरेको बताउँदै आएका छन्।

टेलिभिजन सम्बोधनमा बोल्दै वार्नरले विश्व फुटबल निकायमा भएका भ्रष्टाचारबारे आफुले थाहा पाएको सबै खुलाइदिने बताए।

आफ्नो ज्यान खतरामा परेको बताउने वार्नरले उनको देश ट्रिनिडाड एन्ड टोबागोमा सन् २०१० मा भएको आम निर्वाचनमा पनि फिफा अधिकारीहरु जोडिएको बताए।

फिफाको भ्रष्टाचारमा मुछिएको भन्दै अमेरिकाले मुद्दा चलाएको १४ जना मध्ये उनी एक हुन्।

आरोप

७२ वर्षीय वार्नर सन् २०११ मा सबै फुटबल गतिविधिबाट बाहिरिएका थिए।

जब उनीमाथि घूस लिएको आरोप लाग्यो, त्यस्तै धोकाधडीको आरोपपछि उनले ट्रिनिडाड एन्ड टोबागोको सुरक्षा मन्त्रीको पदबाट पनि राजीनामा दिए।

अर्का उच्च फिफा अधिकारी चक ब्लेजर जसले अनुसन्धानकर्ताहरुलाई सहयोग गर्दै छन्, उनले पनि घूस लिएको स्विकारेका छन्।

अनुसन्धान

यसबीच दक्षिण अफ्रिकी प्रहरीले सन् २०१० मा उक्त देशले विश्व कप फुटबल प्रतियोगिता आयोजना गर्ने सन्दर्भमा त्यहाँको फुटबल संघले दश लाख डलर घूस दिएको भन्ने आरोपबारे अनुसन्धान थालेको बताएको छ।

एक विपक्षी दल फ्रिडम फ्रन्ट प्लसले दक्षिण अफ्रिकी फुटबल संघका वरिष्ठ अधिकारीहरु दोषी देखिने भनिएका दस्तावेजहरु प्रहरीलाई बुझाएको बताएको छ।

तर दक्षिण अफ्रिकाका खेलकूद मन्त्रीले कुनै घूस नदिएको बताएका छन्।