'सघाउन आएका सबै विदेशी सैनिक घर फर्किए'

  • 5 जुन 2015
Image caption भूकम्पपछिको उद्धारमा नेपाली सेनाले गरेको कामको सबै ठाउँहरुबाट प्रशंसा गरिएको छ।

बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि खोज तथा उद्धारमा सघाउन आएका लगभग सबै विदेशी सैनिकहरु आफ्नो देश फर्किएको नेपाली सेनाले जनाएको छ।

बिहीबार आफ्नो वायुसेनाको हेलिकप्टर सहित भारतीय सैनिकको अन्तिम डफ्फा स्वदेश फर्किएको र शुक्रबारसम्म बाँकी क्यानडाका ७ सैनिक पनि स्वदेश फर्कने उद्धार तथा खोजकार्यको संयोजन गरिरहेका नेपाली सेनाका उच्च अधिकारीले बीबीसीलाई बताए।

भूकम्पपछि ध्वस्त भएका संरचनाका भग्नावशेषमा पुरिएकाहरुको खोज तथा उद्धार लगायतमा सहयोग पु-याउन १८ देशका ४ हजार ३ सय भन्दा बढी सैनिक नेपाल आएका थिए।

बैशाख १२ गतेको मध्यान्हमा ७ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको ६ घण्टा पनि नबित्दै भारतीय वायु सेनाका विमान र सैनिकहरु उद्धार तथा खोजमा सघाउन काठमाण्डू ओर्लिसकेका थिए।

मद्दत

इतिहासकै सबैभन्दा ठूलो मध्येको एक प्राकृतिक विपत्तीसँग जुधिरहेको नेपाललाई सघाउन सबैभन्दा पहिला आइपुगेको भारतीय सैनिकहरुको डफ्फाको अन्तिम टोली बिहीबार स्वदेश फर्किएको नेपाली सेनाले जनाएको छ।

उद्धार तथा खोजको संयोजन गरिरहेका नेपाली सेनाका उपरथी बिनोज बस्न्यातले बीबीसीसँग भने, "बिहीबार भारतको अन्तिम टोली पनि स्वदेश फर्किएको छ, उनीहरुको टोलीमा १४ सय १५ जना थिए, त्यसमध्ये धेरै फर्किसकेका थिए। अब एउटा सानो क्यानडेली सैनिक टोली बाँकी छ, त्यो पनि शुक्रबारसम्म फर्कीसक्छ।"

भारतीय सैनिकले ल्याएका ६ वटा एमआइ सेभेन्टिन र ३ वटा एएलच हेलिकप्टर पनि स्वदेश फर्किएको नेपाली सेनाले जनाएको छ।

भूकम्पपछि प्रारम्भिक खोज तथा उद्धारमा सघाउन विभिन्न १८ देशका ४ हजार ३ सय १६ सैनिक आएका थिए, जसले क्षतिग्रस्त घर तथा भवनमा पुरिएका व्यक्तिहरुको खोजी, राहत सामग्रीको ढुवानी तथा स्वास्थ्य शिविर संचालन गर्न मद्दत गरेका थिए।

फिर्ता

अमेरिकाले ७ सय बढी सैनिक र ४ वटा ओस्प्रे सहित ७ वटा सैनिक हेलिकप्टर र चीनले लगभग ८ सयको संख्यामा सैनिक अनि ३ वटा एम आइ सेभेन्टिन हेलिकप्टर नेपाल पठाएका थिए।

विदेशी सैनिकसँग मिलेर खोज तथा उद्धार कार्य अघि बढाउँदा सिकिएको पाठबारे नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोख्रेलले भने, ‘उहाँहरुसँग भएको दक्षताबाट केही कुरा हामीले सिक्ने मौका पायौँ। विभिन्न बहुराष्ट्रिय सेनाहरुसँग काम गर्दा हामीले पनि जानेका कुरा साटासाट गर्ने एउटा ठूलो अनुभव भयो।’

तर विदेशी सैनिकसँग मिलेर खोज तथा उद्धार अघि बढाउँदा देशभित्रकै निकायहरुको क्षमता बढाउनुपर्ने आवश्यकता टड्कारो देखिएको उद्धार कार्यका संयोजक उपरथी बस्न्यातको ठहर छ।

उनले भने, ‘हाम्रो मुलुकमा प्राकृतिक विपत्तीको उच्च जोखिम छ भनेर थाहा पाएपछि हामीले आफ्नो क्षमता बढाउनुप-यो। त्यसो हुँदा हामीले तुरुन्तै चाहिने बेलामा काम गर्न सक्छौ, साथ साथै हामीले विदेशमा गएर पनि केही सहयोग गर्न सक्छौ।’

उद्धारकार्यमा सघाउन आएको एउटा अमेरिकी हेलिकप्टर सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त हुँदा ६ अमेरिकी र २ नेपाली सैनिकले ज्यान गुमाएका थिए। संकटको बेलामा आएर सहयोग गर्ने सैनिकहरुप्रति आफू अाभारी रहेको नेपाली सेनाले बताएको छ।