‘भूकम्प प्रभावित गाउँसम्म बैङ्किङ सेवा बिस्तार’

  • 5 जुन 2015
Image caption भूकम्प र त्यसपछिको परकम्पबाट १४ जिल्लामा ठूलो जनधनको क्षति भएको छ

नेपाल राष्ट्र बैङ्कले भूकम्प प्रभावित जिल्लाका गाँउहरुमा बैङ्किङ सेवा पुर्याउन विशेष योजना बनाइरहेको जनाएको छ।

नेपाल सरकारले भूकम्प पीडितहरुको राहत र पुनर्स्थापनाका लागि दिइने सेवाहरु बैङ्किङ प्रणाली मार्फत दिने तयारी गरेपछि केन्द्रीय बैङ्क त्यसको तयारीमा लागेको हो।

त्यसो गरिए बैङ्किङ सेवा नपुगेका भूकम्प प्रभावित क्षेत्रहरुसम्म वित्तिय सेवा सहज हुने ठानिएको छ।

राष्ट्र बैङ्कले प्रभावित जिल्लाहरुमा रहेका निजी बैङ्क र वित्तिय संस्थाहरुसंग मिलेर त्यस्तो सेवा बिस्तार गर्ने तयारी भएको बताएको छ।

नेपाल राष्ट्र बैङ्कका प्रवक्ता मीनबहादुर श्रेष्ठले भने, “भएका बैङ्कहरुसँग त्यस विषयमा सहकार्य हुनेछ। धेरै असर परेका स्थानहरुमा के-के छ, कुन-कुनलाई परिचालन गर्न सकिन्छ त्यस विषयमा छलफल भइरहेको छ।”

सहकार्य

निजी बैंक र वित्तिय संस्थासंग मिलेर बिस्तार गरिने त्यस प्रकारको सेवा दीर्घकालसम्म कायम राख्ने राष्ट्र बैङ्कको योजना छ।

प्रवक्ता श्रेष्ठले थपे, “बैङ्किङ सेवा बिस्तार अहिलेको अल्पकालीन योजनामात्र होइन। यसलाई पछिसम्म काम गर्ने ढाँचामा लग्ने तयारी गरिरहेका छौँ।”

उनले त्यस्ता स्थानहरुमा खोलिएका बैङ्क र वित्तिय संस्थालाई राष्ट्र बैङ्कले विशेष सुविधा दिने तयारी समेत गरिरहेको बताए।

ढाँचा

नेपाल सरकारले भूकम्प पीडितहरुका ध्वस्त घर निर्माण गर्न उपलब्ध गराउने भनिएको रकम उपलब्ध गराउने कार्यविधि बनाइसकेको छैन।

तस्वीर कपीराइट AFP
Image caption घरबारविहीन बाबुछोरा: लाखौ‌ मानिसको बसोबासको प्रबन्ध गर्नु ठूलो चुनौती बनेको छ

नेपाल राष्ट्र बैंकले जनाए अनुसार त्यो कार्यविधि तयार भएसंगै बैङ्कले पनि सोही अनुरुपको प्रणाली तयार पार्नेछ।

गत बैशाख १२ को भूकम्प र त्यसपछिको थुप्रै परकम्पबाट खासगरी १४ जिल्लाका लाखौं परिवार प्रभावित भएका छन्।

उनीहरुको पुनर्स्थापनका लागि सरकारले योजना बनाइरहेको छ।