आन्तरिक ऋणको दायरा बढाइने

  • 7 जुन 2015
Image caption रकम उठाउनकालागि राष्ट्र बैंकले ऋणपत्र जारी गरि सकेको छ

भूकम्प पछिको पुनर्निर्माण गर्नुपर्ने बेला अनुमान गरिए अनुसारको राजश्व संकलन नहुने देखिए पछि सरकारले आगामी आर्थिक वर्षका लागि आन्तरिक ऋणको दायरा अढाइ गुणाले बढाउने भएको छ।

पुनर्निर्माणको काम समेत गर्ने गरि करिव आठ खर्ब रुपैयां बराबरको बनाउन लागिएको बजेटका लागि सवा खर्ब जति आन्तरिक ऋण मार्फत पूरा गर्ने लक्ष्य राखिने अधिकारीहरुले बताएका छन्।

चालू आर्थिक वर्षका लागि अनुमान गरिएको ५२ अर्बको आन्तरिक ऋण पनि यसै आर्थिक वर्षको अन्त्यमा उठाउन राष्ट्र बैंकले ऋणपत्र तथा बचतपत्र जारी गरिसकेको छ।

आगामी आर्थिक वर्षको बजेट ल्याउनु पूर्व भूकम्पका कारण भएको क्षतिको आंकलन गरिरहेको राष्ट्रिय योजना आयोगले बजेट मार्फत पुनर्निर्माणको काम पनि गर्नु पर्ने तर अनुमानित राजश्व संकल्न घट्ने अवस्था श्रृजना भएको निष्कर्ष निकालेको छ।

यसरी अपुग हुने रकमकालागि आन्तरिक ऋणको परिमाण बढाउने तयारी भएको कुरा योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेलले बताएका छन्।

उनले भने “बजेटको सिलिङ पनि बढाउनु पर्ने बाध्यता र स्रोतको पनि खोजि गर्नु पर्ने बाध्यता भएको हुनाले यसमा हामीले आन्तरिक ऋणको रकम पनि बढाउनु पर्ने हुन्छ र दातृ निकायको दिने बाचा पनि हेरेर बढाउनु पर्ने हुन्छ।“

रकम परिमाण १ खर्ब २५ अर्ब रुपैयां हुने बताइएको छ।

ऋण

चालू आर्थिक वर्षकालागि पनि सरकारले ५२ अर्ब आन्तरिक ऋण मार्फत पुरा गर्ने लक्ष्य लिएको थियो।

चैत्र मसान्तसम्म आन्तरिक ऋण लिनु नपर्ने बताउंदै आएका सरकारी निकायहरु भूकम्प पछि पुन: निर्माणकालागि थप बजेट आवश्यक पर्ने भन्दै पुन: लिने निर्णयमा पुगेका थिए।

उक्त रकम उठाउनकालागि राष्ट्र बैंकले ऋणपत्र जारी गरि सकेको छ।

यो सहितको आन्तरिक ऋण प्रयोग हुने सम्भावित क्षेत्रबारे योजना आयोगका उपाध्यक्ष पोखरेलले भने “मानव सुचाङकमा पछाडी रहेका तराई र पश्चिमका केही जिल्लाहरुका लागि पनि त्यति नै लगानी गर्नु पर्ने हुन्छ। त्यस बाहेक भूकम्पले तहस नहस बनाएका ठाँउमा पनि लगानी गर्नु पर्ने हुन्छ।“

यसका अलावा विदेशी दाताहरुले दिने अनुदान, सहुलियत ऋण र कार्यक्रमका रुपमा दिने सहयोगबाट झन्डै दुई खर्ब रुपैयां सकंलन गर्ने लक्ष्य सरकारले राखेको छ।

त्यसकालागि यही असार १० गते हुने अन्तर्राष्ट्रिय दाता सम्मेलनमा औपचारिक प्रस्ताव राख्ने सरकारी तयारी रहेको जनाइएको छ।