ताप्लेजुङको पहिरोमा २१ को मृत्यु, ३० बेपत्ता

  • 11 जुन 2015
ताप्लेजुङ पहिरो तस्वीर कपीराइट nepal police
Image caption बाढी, पहिरोका कारण खोक्लिङ, थिङलाबु, लिवाङ, लिङ्तेप र खाम्लुङ् गाविस प्रभावित भएका छन्

बाढी र पहिरोका कारण ताप्लेजुङका विभिन्न स्थानमा ज्यान गुमाएका २१ जनाको शव प्राप्त भएको अधिकारीहरुले बताएका छन्।

बिहीबार साँझसम्म विभिन्न गाउँका २७ जना हराइरहेको जानकारी प्राप्त भएको तात्लेजुङका प्रमुख जिल्ला अधिकारी डम्बरुप्रसाद निरौलाले बीबीसीलाई जानकारी दिए।

बाढी र पहिरोको चपेटामा ताप्लेजुङसँगै जोडिएको जिल्ला संखुवासभा पनि परेको छ।

ताप्लेजुङको पश्चिमी क्षेत्रमा बुधबार साँझदेखि परेको अविरल वर्षासँगै विभिन्न गाउँमा गएको पहिरो अझै रोकिएको छैन।

चिन्ता

स्थानीय वासिन्दाहरुका अनुसार पहिरोग्रस्त क्षेत्रमा अहिले पनि पहाडबाट ठूल्ठूला ढुंगाहरु लडिरहेका छन्।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले पहिरोमा पुरिएका २१ जनाको शव प्राप्त भएको र तीन दर्जन बेपत्ता भएको बताए।

उनले भने, "प्रतिकूल मौसमको कारणले खोजी कार्य प्रभावित भएको छ। अहिलेसम्म ५ जना घाइतेहरुलाई उपचारका लागि सदरमुकाम र ३ जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइसकेका छौं।"

पहिरो अझै नरोकिँदा र बाक्लो कुहिरो लाग्नुको साथै साँझ परेपछि सिमसिम पानी पनि परिरहेकोले थप ठूलो विपत्ती निम्तिने चिन्ता स्थानिय वासिन्दामा छ।

वरिपरि पहिरो झरिरहेकोले ठूलो पहिरो आयो भने कहाँ भाग्ने भन्ने चिन्ताले सताएको लिङतेपका आशिष केदेमले वताए।

पहिरोवाट लिवाङ गाविस बढी प्रभावित भएको छ।

उक्त गाविस हालसम्म सम्पर्क बाहिर रहेको छिमेकी गाविसका वासिन्दाहरु वताउँछन्।

उद्धार

पहिरो प्रभावित लिङतेप सहित लिवाङ, थिङलावु, खोक्लिङ र सान्थाक् गाविसका वासिन्दाहरु त्रिपाल टाँगेर अहिले अग्ला पहाड र विद्यालयका चौरमा बसिरहेका छन्।

पहिरोबाट मेवा, मैवा र तमोरको त्रिवेणीस्थल ताप्लेजुङको दोस्रो ठूलो देभान बजारका वासिन्दा पनि सुरक्षित स्थानतर्फ सरिरहेका छन्।

नदीमा ठूलो बाढी आएपछि नदी किनारका सयौं बस्तीहरु अहिले जोखिममा छन्।

पहिरो प्रभावित क्षेत्रमा खोलानाला बढेका कारण र पहिरोले बाटो बगाउँदा कतिपय प्रभावित गाविसमा प्रहरी पठाइ उद्धार गर्न कठिनाइ परिरहेको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले वताए।

घटना भएको १५ घण्टा पछि ताप्लेजुङ आइपुगेको एउटा सैनिक हलिकप्टरले मौसमको प्रतिकूलताका बावजुद केही घाईतेलाइ उद्धार गरेको थियो।

याचना

मौसमले धोका दिएका कारण उद्धारमा गएको हेलिकप्टर केही बेर आकासमा उडेर बल्लबल्ल आठ जना घाइतेको उद्धार गर्न सफल भएको निरौलाले बताए।

पहिरोबाट विस्थापित सयौं परिवारले सुरक्षित ठाउँमा सारिदिन आग्रह गरिरहे पनि तत्कालै उनीहरुलाई सार्न नसकिने जिल्ला दैवी प्रकोप उद्धार समिति ताप्लेजुङले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा ताप्लेजुङमा १३० मिलिमिटर वर्षा भएको जनाएको छ।

वर्षा पछिको पहिरोले पूर्वी नेपालको संखुवासभा जिल्लाका खाँदबारी, पाथीभरा, ताम्फु, सभापोखरी लगायतका गाविसमा पनि क्षति पुर्याएको छ।

पहिरोबाट मानवीय क्षति नभएपनि त्यहाँका दर्जनौ गाँउहरु पहिरोको जोखिममा रहेको स्थानीय अधिकारीहरुले बताएका छन ।