अमेरिकी सैन्य र गुप्तचर विवरणहरुमा ‘घुसपैठ’

  • 13 जुन 2015
तस्वीर कपीराइट Reuters
Image caption आक्रमणको शिकार बनेको अफिस अफ म्यानेजमेन्टले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन्

चीनसँग संदिग्ध सम्बन्ध देखिएका ह्याकरहरुले गुप्तचर निकाय र सेनाका संवेदनशील विवरणहरुमा घुसपैठ गरेको अमेरिकी अधिकारीहरुले बताएका छन्।

एउटा महत्वपूर्ण ह्याकिङबारे गत साता खबरहरु प्रकाशमा आएपनि दोस्रो साइबर आक्रमणबारे अहिलेनै अधिकारीहरुले विस्तृत जानकारी दिएका हुन्।

पछिल्लो साइबर आक्रमणले अमेरिकी सैनिकहरु अथवा उनीहरुका परिवारका सदस्यहरुलाई गलत तत्वले सताउन सक्थे खतरा निम्त्याउने भन्दै चिन्ता व्यक्त गरिएको छ।

आक्रमणको शिकार बनेको अफिस अफ म्यानेजमेन्ट अर्थात ओपिएमले त्यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन्।

निशाना

अधिकारीहरुले नाम नखुलाउने शर्तमा समाचार संस्था एपीलाई बताएअनुसार सुरक्षा अनुमतिका निम्ति गुप्तचर निकाय र सैनिकद्वारा बुझाइएका फारमहरुलाई ह्याकरहरुले निशाना बनाएका छन्।

ती फारमहरुमा सेनाका आँखाका रंगदेखि लिएर उनीहरुको आर्थिक गतिविधिसम्मका व्यक्तिगत विवरणहरु रहेका छन्।

त्यस बाहेक सैनिकहरुका आफन्त लगायतका मानिसहरुको सम्पर्क विवरणहरु पनि त्यसमा रहेको बताइएको छ।

पहुँच

ह्वाइट हाउसको एउटा विज्ञप्ति अनुसार सरकारी कर्मचारीहरुका विवरणहरुमा पहुँच स्थापित गरिएकोमा अनुसन्धानकर्ताहरु ‘निकै विश्वस्त’ छन्।

गुप्तचरसम्बन्धी एकजना पूर्व अमेरिकी अधिकारी जोएल ब्रेनरले ती विवरणहरु ह्याकरहरुका निम्ति ‘सुनको खानी’ भएको टिप्पणी गरे।

गत साता अमेरिकी सरकारी कर्मचारीका व्यक्तिगत विवरणहरुमा गरिएको घुसपैठबाट यसअघि सार्वजनिक गरिएकोभन्दा बढी असर परेको हुन सक्ने बताइएको छ।