मस्यौदा लेखन प्रक्रिया आइतबारदेखि

  • 14 जुन 2015
Image caption दलहरुबीच भएको पछिल्लो सहमतिले संविधान आउने आशा पलाएको बताइन्छ

मुख्य चार दलबीच १६ बुँदे सहमति भएको झण्डै एक सातापछि आईतबारदेखि नयाँ संविधानको मस्यौदा लेखन कार्य शुरु हुने सम्बन्धित समितिका प्रमुखले बताएका छन्।

मस्यौदा लेखनको मुख्य जिम्मेवारी पाएको संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले आगामी श्रावण मसान्तसम्ममा संविधान जारी हुने गरी समितिले छरितो काम गर्ने बताए।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले गत शुक्रबार प्रतिवेदन बुझाए लगत्तै संविधानसभाले मस्यौदा समितिलाई १५ दिनभित्र प्रारम्भिक मस्यौदा तयार गर्न निर्देशन दिएको थियो।

मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले भने, “नसुल्झिएका विषयहरु वा थप्नुपर्ने विषय अथवा संविधानको तर्जुमाको दृष्टिले परिमार्जन गर्नुपर्ने आदि जुन विषय संविधानसभामा निर्णय भएको थियो, त्यो जिम्मेवारीलाई हामीले तोकिएकै बेलामा पुरा गर्नेछौँ।”

प्रारम्भिक

फास्ट ट्रयाक अर्थात द्रुत गतिबाट संविधान निर्माणका कामहरु गर्ने भनिंदै गर्दा मस्यौदा समितिले १५ दिनमै प्रारम्भिक खाका दिएपनि संविधान बन्न भने श्रावण मसान्तसम्म लाग्ने सिटौलाले बताए।

प्रारम्भिक मस्यौदा तयार भएपछि त्यसलाई संविधान सभाको बाटो हुँदै जनताको राय सुझावको लागि पठाइने र त्यसमा आवश्यक परिमार्जन गरी अन्तिम स्वरुप दिने प्रक्रियालाई छोट्याइने उनले बताए।

उनले भने, “हामीले ३० दिनमा सक्छौँ भनेर सोचेका हौँ, तर असारमा बजेट अधिवेशन पनि पर्ने हुनाले हामी श्रावण महिनाभित्रमा संविधान जारी गर्ने अवस्थामा पुग्छौँ।”

गति

एक साताअघि चार प्रमुख राजनीतिक दलहरुवीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको राजनीतिक सहमति भएसँगै संविधान निर्माणको कामले गति लिन थालेको देखिएको हो।

तर अझै केही दलहरुले उक्त सहमतिको विरोध गर्दै आएका छन्।

असन्तुष्ट केही दलहरुले शनिबार राष्ट्रपतिलाई भेटेर चार दलबीचको सहमति संविधान विपरित रहेको भन्दै अन्तरिम संविधानको ‘रक्षा’ गर्न आग्रह गरेका थिए।