युरो मुद्रा त्याग्ने ग्रीसको चेतावनी

  • 18 जुन 2015
Image caption ग्रीसले युरो जोनको ऋण तिर्ने भाखा आउँदो जुन ३० मा सकिदैँछ

ग्रीसको केन्द्रीय बैंकले जुन महिनाको अन्त्यसम्ममा अन्तर्राष्ट्रिय ऋणदाताहरुसंग सहमति हुन नसके ग्रीसले अन्तत: युरोपेली एकल मुद्रा प्रणाली छाड्नुपर्ने हुनसक्ने चेतावनी दिएको छ।

उक्त सहमति नभए ग्रीसमा गहिरो आर्थिक मन्दी आउने र त्यसका कारण आम्दानीमा नाटकीय गिरावट आउने तथा बेरोजगारी ह्वात्तै बढ्ने बैङ्कले बताएको छ।

ग्रीस र उसका ऋणदाताहरु आर्थिक सुधारसम्बन्धी सम्झौता हुन नसक्नुका पछाडि एकअर्कामाथि दोषारोपण गरिरहंदा उक्त बैंकको भनाइ आएको छ।

सम्झौता नहुँदा थप करीब सवा ७ अर्ब युरो निकासा दिने काम रोकिएको बताइएको छ।

असहमत

आफ्नो प्रतिवेदनमा ग्रीक केन्द्रीय बैंकले भनेको छ, सम्झौता हुन नसके त्यसले एउटा पीडादायी यात्रा शुरु गर्नेछ जसको शुरुवातमा ग्रीस टाट पल्टिनेछ र अन्तत: युरो क्षेत्र र सम्भवत: युरोपेली संघबाट ग्रीस बाहिरिनेछ।

उक्त बैंकले सो सम्झौता हुनु ऐतिहासिक आवश्यकता भएको समेत औंल्याएको छ।

तर युरो मुद्रा प्रचलनमा रहेका मुलुकहरुको समूह युरो जोनले ग्रीसको ऋण मिनाहा गर्नेबारे अझै पनि सैद्धान्तिक रुपमा असहमत रहेको जनाएको छ।

जुन महिनाको अन्त्यसम्म कसरी सहमति जुटाउने भन्ने विषयमा छलफल गर्न युरो जोनका अर्थमन्त्रीहरुबीच बिहीबार छलफल हुंदैछ।

ग्रीसले युरो जोनको ऋण तिर्ने भाखा जुन ३० मा सकिंदैछ।