महिला ओसारपसारमा 'बृद्धि'

  • 17 जुन 2015
Image caption भूकम्पले निम्त्याएको अव्यबस्थाका कारण सुनौली जस्ता सीमामा महिला ओसारपसार बढेको बताइन्छ

भूकम्पले निम्त्याएको विपत्तिपछि सीमा नाकाहरुमा भारततर्फ जान चाहने युवतीहरुको संख्या ह्वात्तै बढेको बताइएको छ।

भूकम्प प्रभावित जिल्लाका बालबालिका तथा युवतीहरुको संभावित ओसार पसार तथा बेचबिखन नियन्त्रणको लागि सरकारी निकायहरु सक्रिय रहेको भनिएको छ।

तर भारत तर्फ जाने नाकाहरुमा भने त्यस्ता युवतीहरुको संख्या बढेको त्यस क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरुले वताएका छन ।

संस्थाहरुका अनुसार भारतमा कामका लागि भनि कागजपत्र मिलाएर गएका कतिपय युवतीहरुलाई त्यहाँवाट फर्काईएको छ।

निगरानी

प्रहरीको सहयोगमा सीमा क्षेत्रमा यतिखेर निगरानी पनि वढाईएको बताइएको छ । भारत प्रवेश गर्ने नेपालको एक महत्वपुर्ण नाका सुनौलीमा भन्सार, प्रहरी चेकपोष्ट जस्ता सरकारी निकायका अतिरिक्त उत्तिकै खटेर काम गर्ने केही गैरसरकारी संघ सस्थाहरु पनि छन् जसले वर्षौ देखि भारत जाने नेपाली युवतीलाई निगरानी गर्दै आएका छन ।

ती संघसस्थाहरुका अनुसार वैशाख १२ को भुकम्प पछि सीमा क्षेत्रमा पहिलेको तुलनामा सय गुणा भन्दा पनि वढी युवतीहरु भारत जानका लागि आउन थालेका छन ।

महिला वेचविखन विरुद्ध कार्यरत संस्था माईती नेपालकी भैरहवा प्रमुख प्रभा खनाल भन्छिन्, "पहिले एकमहिनामा पचास जना भन्दा कम हुन्थे अहिले सय जना भन्दा बढि फेला परेका छन्।"

शंकास्पद

माईती नेपालका अतिरिक्त सीमा क्षेत्रमा के आई नेपाल, थ्री एन्जल्स जस्ता गैर सरकारी सघ संस्थाहरुले पनि युवती बेच बिखन विरुद्ध काम गर्दै आएका छन्।

उनीहरुको रेकर्डमा पनि अहिले भारततिर जाने युवतीहरुको संख्या ह्वात्तै बढेको छ ।

ती संस्थाहरुले युवतीहरुलाई संझाई बुझाई अभिभावकको जिम्मा लगाउछन् भने बढी नै शंकास्पद लागेमा प्रहरीकहाँ लैजाने गर्छन ।

रुपन्देही प्रहरीकी महिला सेल प्रमुख यानुमाया श्रेष्ठ भन्छिन्, "कतिका बाबु आमाले काममा जान लागेको भन्छन् कतिले त बेच्न लान लागेको हो पनि भन्छन्।"

प्रहरीले संभावित बेचबिखन नियन्त्रणका लागि निगरानी बढाएको भए पनि जहाँतहीँको खुला सिमानाका कारण नियन्त्रण चुनौतीपुर्ण भएको प्रहरी अधिकारीहरु बताउँछन् ।