भूकम्प प्रतिरोधी घरका नमूना तयार

  • 18 जुन 2015
Image caption सरकारले घरको नमुना तयार गरिरहँदा वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई फर्काउने योजना रहेको बताएको छ

सरकारले देशभरि नै अब निर्माण हुने घरहरुलाई भूकम्पप्रतिरोधी बनाउने लक्ष्यसहित नयां नमूनाहरु तयार पारेको बताएको छ।

तराइ, पहाड र हिमालका लागि भिन्नाभिन्नै दश थरीका भूकम्पप्रतिरोधी घरका नमूना गाविस र नगरपालिकाहरुमा अर्को साताबाट पु-याउन थालिने शहरी विकास मन्त्रालयले जनाएको छ।

हालैको विनाशकारी भूकम्पले करीब ८ लाख घरहरुमा पूर्ण तथा आंशिक क्षति पु-याएको विवरणमाझ सरकारको नयां तयारी आएको हो।

शहरी विकास मन्त्रालयले हरेक गाविस र नगरपालिकामा भूकम्पप्रतिरोधी प्रविधि पु-याउने लक्ष्यसहित घरहरुका विभिन्न १० वटा नमूना तयार पारिएको अधिकारीहरुले बताए।

अन्तिम चरण

तराइ, हिमाल र पहाडका शहरी तथा ग्रामीण भेगका लागि तयार पारिएको भनिएका ती नूमना कस्तो छ त?

शहरी विकास मन्त्रालयका प्रवक्ता पद्म मैनालीले भने, "भूकम्पप्रतिरोधी कसरी बनाउने भन्ने प्रविधि लिएर जाँदैछौं। त्यसभित्र झ्याल ढोकालाई कसरी बाँध्ने, कर्नरलाई कसरी बाँध्ने, गाह्रो लगाउँदा के-के उपाय अपनाउनुपर्छ भन्ने कुरा बुझाउँछौं।"

यसका अतिरिक्त सरकारले, संगसंगै, सुरक्षित घर निर्माणका लागि भवन संहिताहरुमा कडा प्रावधान समेट्ने योजनालाई पनि अन्तिम चरणमा पु-याएको बताइएको छ।

सुझाव

दीर्घकालका लागि घर निर्माणसंग सम्बन्धित स्थानीय तहका प्राविधिकहरुलाई तालिम दिने योजना पनि रहेको शहरी विकास मन्त्रलायले जनाएको छ।

प्रवक्ता पद्म मैनालीले भने, "भोलि काम गर्ने डकर्मीसमेत यो प्रविधिमा दक्ष बनाउने भन्ने सरकारको चाहना छ।"

तर हाल निर्माण भइसकेका घरहरुलाई पनि भूकम्पप्रतिरोधी बनाउन झन् चुनौतीपूर्ण भएको भन्दै कतिपय विज्ञहरुले त्यसको प्रारुपपनि संगसंगै अघि बढाउन सुझाव दिएका छन्।