भूकम्पका कारण मेलम्ची आयोजना प्रभावित

  • 18 जुन 2015
काठमाण्डू उपत्यका
Image caption मेलम्ची नदीको पानीले काठमाण्डू उपत्यकाको पिउने पानीको संकट समाधान गर्ने अपेक्षा गरिएको छ

कहिले राजनीतिक द्वन्द्व त कहिले ठेकेदारको ढिलाईले गर्दा कछुवा गतिमा काम भइरहेको मेलम्ची खानेपानी आयोजनाको काम भूकम्पको असरले गर्दा अझ ढिलो हुने देखिएको छ।

त्यसैपनि झन्डै २ महिना रोकिएको काम अहिले कामदार नहुंदा थप ढिलाइ हुन सक्ने अधिकारीहरुले बताएका हुन्।

निकै प्रतिक्षा गरिएको बहुचर्चित मेलम्ची खानेपानी आयोजना निर्माणको मुख्य पाटोको रुपमा रहेको मुहान र सुरुंङ निर्माण कार्यमा भूकम्पले ठुलो क्षति नपुर्याएको प्रारम्भिक निरिक्षणले देखाएको छ।

तर भूकम्प गएको झन्डै २ महिना बित्न लाग्दा समेत सुरुंङ निर्माणको काम शुरु हुन सकेको छैन।

नयाँ समस्या

मेलम्ची विकास बोर्डका कार्यकारी निर्देशक घनश्याम भट्टराईले अहिले कामदार अभाव भएको बताउँछन्।

"कामदारहरु अहिले काममा फर्केका छैनन्, अहिलेको मुख्य समस्या त्यही नै हो, यो काममा फेरी उच्च प्राविधिक कामदारहरु चाहिन्छ।”

“एकपटकमा सिमीत कामदारले मात्र काम गर्न सक्ने हुनाले हामी निकै सीमित दायरामा काम गर्छौ।"

काठमाडौं उपत्यकाका जनताहरुको तिर्खा मेटाउने भनिएको मेलम्ची खानेपानी आयोजना विभिन्न बहानामा अत्यन्त ढिलो गतिमा हुंदै आएको छ।

आयोजनाको सुरुङ निर्माणमा चिनियाँ ठेकेदार कम्पनीले बीचमै काम छोडेपछि अहिले इटालियन कम्पनी सीएमसीले अर्को वर्ष पुरा गर्नेगरी ठेक्का लिएको थियो।

ढिलाई

त्यसैपनि लक्ष्य भित्र काम पुरा नहुने भनिएको परियोजना मिति अझ पर सर्न सक्ने पनि कार्यकारी निर्देशक भट्टराईले बताए।

उनले भने, "काम गर्ने बेलामा नै भूकम्प गयो, अब ठेकेदारले अव क्षमता बृद्धि गरेर काम गर्नुपर्छ; त्यसैकारण आयोजना निर्माणमा केही ढिलाई हुन सक्छ।"

मेलम्ची परियोजनाको कामले पूर्णता पाउन सुन्दरीजलमा पानी प्रशोधन केन्द्र र काठमाण्डू उपत्यकामा वितरण प्रणाली निर्माण सम्मको काम सकिनु पर्ने हुन्छ।