काम रोकिन्न: मस्यौदा समिति

  • 20 जुन 2015
Image caption सर्वोच्च अदालतको अन्तरिम आदेशपछि संविधान निर्माणबारे अन्योल बढेको बताइएको छ

प्रमुख चार दलका बीचमा भएको १६ बुँदे सहमतिका विरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको भोलिपल्ट संविधानसभाको मस्यौदा समितिले आफ्नो कामलाई निरन्तरता दिएको छ।

मस्यौदा समिति अन्तर्गतको कार्यदलको शनिबारको बैठकमा अदालतको अन्तरिम आदेश आएको भन्दै मस्यौदा समितिको काम रोक्न सदभावना पार्टीका सभासदले माग गरेका थिए।

तर संविधान निर्माण संविधानसभाको विशेषाधिकार भएकाले मस्यौदा लेखनलाई आफुहरुले निरन्तरता दिएको समितिले जनाएको छ।

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि बसेको चार दलको बैठकले संविधान निर्माण कार्यलाई निरन्तरता दिने भनेर गरेको निर्णय बमोजिम नै संविधानसभाको मस्यौदा कार्यदलको बैठक बसेको बताइएको छ।

माग

मस्यौदा समिति अन्तर्गतका उपसमितिका संयोजकहरु र केही आमन्त्रित सदस्यको सहभागिता रहेको बैठकले केही दिन देखि जारी रहेको संविधानको मस्यौदालाई एकीकृत गर्ने, परिमार्जन गर्ने र पहिलो मस्यौदालाई अन्तिम रुप दिने कामलाई शनिबार पनि जारी राखेको कार्यदलका सदस्य रमेश लेखकले बताए।

उनले भने "हामी मस्यौदालाई अघि बढाउने कुरालाई निरन्तरता दिन्छौं। संविधान बनाउनु छ र संविधान बनाउने संविधानसभाको सार्वभौम अधिकार हो। त्यसो भएको हुनाले संविधान निर्माणको प्रक्रिया अघि बढेको हो।"

बैठकमा आमन्त्रित सदभावना पार्टीका एकजना सभासद्ले सर्वोच्चको फैसलाका बारेमा ध्यानाकर्षण गराउँदै संविधानको मस्यौदा लेखन रोक्न माग गरेका थिए।

तर समितिका अधिकांश सदस्यले संविधानसभा संविधान निर्माणका लागि सर्वोपरि निकाय भएको भन्दै आफ्नो कामलाई अघि बढाउने निर्णयमा पुगेको बताइएको छ।

शनिबार नै राष्ट्रपति रामवरण यादव सँग भेट गरेका एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आदेशको खारेजीको माग गर्दै अदालतमै जाने दलहरुका बीचमा समझदारी भएको बताए।

उनले भने, "के भ्रम हुनु हुँदैन भने चार दलले त्यसलाई बेठीक छ भन्यो भन्नुको अर्थ अदालतको अपमान गर्ने मनसाय कहीं पनि छैन। बरु अदालती प्रकृयाबाटै त्यसलाई खारेज गराउने भन्ने समझदारी भएको छ।"

१६ बुँदे सहमतिमा हस्ताक्षर गर्ने प्रमुख दल मध्येको अर्को दल नेकपा एमालेको स्थायी समितिको शनिबारको बैठकले संविधानको मस्यौदा लेखन कार्यलाई अझ तीव्र गतिमा अघि बढाउन र द्रुत प्रक्रियाबाट संविधान जारी गर्ने दिशामा अघि बढन आग्रह गर्ने निर्णय गरेको सो पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।