अन्तर्राष्ट्रिय योग दिवसमा हजारौं सहभागी

  • 21 जुन 2015
तस्वीर कपीराइट z
Image caption राष्ट्र संघले घोषणा गरेको पहिलो अन्तर्राष्ट्रिय योग दिवस मनाउन भारतमा धुमधामको तयारी थियो

आइतबार पहिलो अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ।

भारतको राजधानी नयाँ दिल्लीमा दशौं हजार मानिसहरु एउटा ठूलो योग कार्यक्रममा विहानै सहभागी हुँदैछन्।

योग कार्यक्रमलाई लक्षित गरी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

सुरक्षाका लागि हजारौं प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको अधिकारीहरुले बताएका छन्।

पहल

दिल्लीस्थित मुख्य कार्यक्रमस्थल राजपथमा रंगीबिरंगी आसनहरु बिछ्याइएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदी कार्यक्रममा सहभागी हुनेछन्।

दैनिक योग गर्ने भनिएका मोदीले जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा घोषणा गर्न संयुक्त राष्ट्रसंघमा पहल गरेका थिए।

Image caption योगलाई साधारण बनाएर धेरै मानिसकहाँ पुर्याउने अभियानमा योगगुरु रामदेव सक्रिय छन्

अधिकारीहरुका अनुसार राजपथमा हुने योग कार्यक्रममा सरकारी कर्मचारी, सैनिक र विद्यार्थी लगायत ३५ हजारभन्दा बढी मानिसहरु सहभागी हुनेछन्।

किर्तिमान

एउटै स्थलमा सबैभन्दा बढी मानिसहरुले योग गरेको किर्तिमान गिनिज वर्ल्ड बुकमा लेखाउने उद्देश्य पनि कार्यक्रमको रहेको बताइएको छ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर भारतका अन्य शहरहरुमा पनि लाखौं मानिसहरुले योग गर्ने कार्यक्रम छ।

भारतीय रक्षामन्त्रीका अनुसार सियाचेन हिमताल र उच्च समुद्री क्षेत्रमा पनि योग गरिनेछ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आइतबार विश्वभर योग दिवस मनाइने र दशौं लाख मानिसहरुले योग गर्ने बताइन्।