ऋण सकंटः ग्रीसद्वारा नयाँ प्रस्ताव पेश

  • 22 जुन 2015
तस्वीर कपीराइट Reuters
Image caption मितव्यीयतासम्बन्धी ग्रीक सरकारको योजनाको समर्थनमा हजारौं मानिसहरुले एथेन्समा प्रदर्शन गरेका छन्

युरोपियन नेताहरु आपतकालीन बैठकका निम्ति जुटिरहेका बेला ग्रीस सरकारले आफ्नो मुलुकको कर्जा संकट सुल्झाउनका निम्ति नयाँ प्रस्ताव अघि सारेको छ।

युरो मुद्रा प्रचलनमा रहेका युरोजोनका नेताहरुको सोमबार बस्ने आपतकालीन बैठकअघि ग्रीक प्रधानमन्त्री एलेक्सिस त्सीप्रासले नयाँ प्रस्ताव अघि सारेका हुन्।

प्रधानमन्त्री त्सीप्रासले अघि सारेका नयाँ प्रस्तावको विस्तृत विवरण बाहिर ल्याइएको छैन्।

ब्रसेल्समा बस्ने युरोजोनका नेताहरुको आपतकालीन बैठकअघि उनले ग्रीसका तीनवटा अन्तर्राष्ट्रिय ऋणदाता मुलुकका प्रमुखहरुसँग भेटवार्ता गर्नेछन्।

असर

ग्रीसको सबैभन्दा ठूलो ब्यांककी प्रमुख लुका काट्सेलीले भनिन्, “यो स्पष्ट छ कि सहमति भएन र ग्रीसलाई टाट पल्टेको देश घोषणा गरियो भने ब्यांकिङ्ग प्रणालीमा त्यसको असर पर्नेछ।”

अन्तर्राष्ट्रिय मुद्रा कोषलाई तत्काल एक अर्ब ६० करोड युरो तिर्न नपर्ने प्रयासस्वरुप ग्रीक प्रधानमन्त्रीले नयाँ प्रस्ताव ल्याएको बताइएको छ।

यसै महिनाको अन्त्यसम्ममा ग्रीसले उक्त रकम नतिरे युरोजोनबाट उ बाहिरिन सक्ने जोखिम रहेको बताइन्छ।

आइतबार त्सीप्रासले जर्मनी, फ्रान्स र युरोपियन कमिसनका नेताहरुसमक्ष सुधारसम्बन्धी योजना प्रस्तुत गरे।

तस्वीर कपीराइट Getty
Image caption सहमति नभए ग्रीस युरोजोनबाट बाहिरिने खतरा रहेको बताइएको छ

उक्त प्रस्तावलाई कतिपयले ग्रीस सरकारले छुट दिन इच्छुक रहेको रुपमा हेरेका छन्।

प्रयास

त्सीप्रासले त्यसलाई “परस्पर हित” को प्रस्ताव भनेका छन्।

ग्रीक मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो प्रस्तावलाई पारित गरेको थियो।

युरोपियन नेताहरुले ब्रसेल्स बैठकअघि सहमतिमा पुग्ने प्रयासलाई तीव्र पारेका छन्।

फ्रेन्च राष्ट्रपति फ्रान्स्वा ओलान्दले ग्रीसलाई युरोजोनमा राखिराख्न “सबैथोक” गर्नुपर्ने बताए।

इटालियन प्रधानमन्त्री माटे ओरेन्त्सीले दुवै पक्षले “अवसरको सदुपयोग” गर्नुपर्नेमा जोड दिए।