‘दाता सम्मेलनको तयारी करीब पूरा’

  • 23 जुन 2015
तस्वीर कपीराइट AFP
Image caption सम्मेलनका प्रतिनिधिहरुलाई राजधानीका क्षतिग्रस्त संरचनाको अवलोकन गराइने अधिकारीहरुले बताएका छन्

भूकम्पपछिको पुनर्निर्माणका लागि विदेशी सहयोग जुटाउन बिहिबार गर्न लागिएको दाता सम्मेलनको तयारी करीब पूरा भइसकेको भन्दै अधिकारीहरुले छिमेकी भारत र चीनका विदेशमन्त्रीहरु लगायत ४५ देश र दातृ निकायका प्रतिनिधिहरु सहभागी हुने बताएका छन्।

अर्थमन्त्रालयका अनुसार सम्मेलनमा सहभागी हुन आउने अतिथिहरुको आवास, स्थलगत भ्रमण र सम्मेलनको प्रस्तुतिसम्मको तयारी भईसकेको छ।

सम्मेलनमा सहभागी हुनका लागि निकै महत्वका साथ निम्तो गरिएका दुई छिमेकी देश भारत र चीनका सरकार प्रमुखहरुले भने सहभागी हुन नसक्ने जानकारी दिएको अधिकारीहरुले बताएका छन्।

सम्मेलनमा ४५ देश र दातृ निकायका गरी १ सय ७१ जना आउने हालसम्म निश्चित भएको बताइएको छ।

व्यवस्था

पाहुनाको आगमनदेखि विदाईसम्म उनीहरुको बसाइको प्रबन्ध, मर्यादाक्रम अनुसारको सुरक्षा व्यवस्था, सम्मेलनमा उनीहरुको प्रस्तुतिका साथै छलफल कसरी गर्ने भन्नेसम्मको तयारी भईसकेको अर्थमन्त्रालयका सचिव सुमन शर्माले बताए।

उनले भने, “सम्मेलन नसकिएसम्म तयारीको क्रम जारीनै रहन्छ तर धेरैनै अगाडि बढिसकेको छ, राम्रै तरिकाले तयारीको काम भइसकेको छ, विमास्थलमा स्वागत गर्नेदेखि छलफलका विषयहरुको तयारी भइसकेको छ।”

भूकम्पपछिको पुनर्निर्माणका लागि वैदेशिक सहायताको आवश्यकता रहेको भन्दै आयोजना गर्न लागिएको सम्मेलनका निम्ति सरकारले लामो समयदेखि सहयोग गर्दै आएका दातृ राष्ट्र र दातृ निकायहरुलाई निम्ता पठाएको थियो।

अन्य देशबाट सरकारको प्रतिनिधिको अपेक्षा गरेको सरकारले दुई छिमेकी देश भारत र चीनका सरकार प्रमुखलाई निमन्त्रणा गरेको थियो।

तस्वीर कपीराइट
Image caption पुनर्निर्माणमा झण्डै ७ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ

तर ती देशबाट पनि मन्त्रीस्तरीय सहभागिता हुने जानकारी आएको अर्थ सचिव शर्माले जनाए।

अपेक्षा

उनले भने, “सरकार प्रमुखहरु भारत र चीनलाई मात्र निम्तो भएको हो, अब हामीले मन्त्रीस्तरीय अपेक्षा गर्यौँ, त्यसमा उच्चस्तरीयनै सहभागिता हुने अपेक्षा छ।”

सम्मेलनमा निम्ता गरिएका अधिकांश दातृ निकायका प्रतिनिधिहरु सहभागी हुने बताईएको छ।

एसियाली विकास ब्याङ्क, विश्व ब्याङ्क, जाइका र युरोपियन युनियनबाट उच्च अधिकारीहरु नै सम्मेलनमा सहभागी हुने सरकारी भनाई छ।

सहभागीहरुलाई भूकम्प प्रभावित क्षेत्रको समेत भ्रमण गराइने बताइएको छ।

अर्थमन्त्रालयका अनुसार हालसम्म उपत्याकाभित्रै भ्रमणको योजना बनाइएको भएपनि सहभागीहरुले अन्य जिल्ला जान चाहेमा हेलिकप्टरको व्यवस्था गरिएको छ।

सम्मेलनमा पुनर्निर्माण लागि करीब ६ खर्ब ६६ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको विपद्पछिको आवश्यकता मूल्याङ्कन (पिडिएनए) प्रतिवेदन प्रस्तुत गरिने र त्यसैलाई आधार बनाएर छलफल हुने बताइएको छ।