'अति गर्मीले पाकिस्तानमा ८०० को मृत्यु'

  • 24 जुन 2015
तस्वीर कपीराइट Reuters

पाकिस्तानको दक्षिणी प्रान्त सिन्धमा अत्यधिक गर्मीका कारण ज्यान गुमाउनेहरुको संख्या ८ सय नाघेको अस्पतालका अधिकारीहरुले बताएका छन्।

बीबीसी उर्दू सेवाका अनुसार कराचीमा मात्रै कम्ती ७ सय ८० जनाको ज्यान गएकाे छ।

प्रान्तको अन्य क्षेत्रमा थप ३० जनाको ज्यान गएको सरकारी स्वामित्वको टेलिभिजन च्यानल पीटीभीले जनाएको छ।

एधी परोपकारी संगठनले एएफपी समाचार सेवासंग कुरा गर्दै आफ्नो संस्थाले संचालन गरेको शवगृहमा सयौं शवहरु ल्याइएको र अब थप शव राख्‍ने ठाउं नभएको बताएको छ।

यो संकटसंग जुध्न पर्याप्त काम नगरेको भनी अधिकारीहरुको आलोचना भैरहेको छ।

सिन्ध प्रान्तका अधिकारीहरुले मानिसहरु चर्को घामबाट जोगिएर घर भित्रै बस्न सकुन् भनेर बुधबार सार्वजनिक विदा दिएका छन्।

तस्वीर कपीराइट EPA

मंगलबार तापक्रम ४५ डिग्री सेल्सीयस पुग्दा पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले आपतकालीन उपायहरु अपनाउन आह्वान गरेका थिए।

अत्यधिक गर्मीका कारण बेहोस भएकाहरुको हेरविचार गर्न सेना परिचालन गरिएको थियो।

हाल समुद्रबाट आएको चीसो हावाले गर्दा तापक्रम ३४ डिग्रीमा झरेको छ।

तर विजुलीको आपूर्ति कटौती गरिएका कारण आफूहरुले एअर कण्डीशनर र पंखाको प्रयोग गर्न नपाएको भन्दै स्थानीय बासिन्दा अधिकारीहरुप्रति आक्रोशित छन्।

कराचीका वासिन्दा मुजफ्फर खानले बीबीसीसंग भने, “आज बिहान सात बजे देखि नै बिजुली आएको छैन र राती पनि तारन्तर बत्ती निभेको थियो।“

कडा ब्रत

मुसलमानहरुको धार्मिक महिना रमजानको अवधिमा घाम छउञ्जेल कडा ब्रत बस्ने चलनले पनि ब्रतालुहरुले पानी नपिउंदा अवस्था झन कठीन बन्न पुगेको बताइएको छ।

तस्वीर कपीराइट Getty

केहि धर्मगुरुहरुले वक्तव्य निकालेर र टेलिभिजन मार्फत आह्वान गर्दै जो जो शारीरिक रुपमा कमजोर छन्, पाको उमेरका छन् वा ब्रत बस्न सक्ने अवस्थामा छैनन्, तिनीहरुले कडा ब्रत बस्नु नपर्ने प्रावधान रहेको भनी बारम्बार स्मरण गराएका हाम्रा सम्वाददाताले बताएका छन्।

अत्यधिक गर्मीका कारण ज्यान गुमाउनेहरुमा धेरै जसो बृद्धबृद्धा र न्यून आय भएको परिवारका मानिसहरु रहेका छन्।

तस्वीर कपीराइट BBC World Service

अन्य हजारौंको उपचार भैरहेको छ र ती मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

गर्मी

पाकिस्तानमा ग्रीष्म याममा अत्यधिक गर्मी हुनु अनौठो कुरा होइन।

तर गर्मीका बेला लामो समयसम्म विजुली आपूर्ति हुन नसक्दा स्थिति झन खराब बन्न पुगेको हुन सक्ने बीबीसीका शाहजेब जिलानीले बताए।

कराचीको धेरै जसो भागमा आक्रोशपूर्ण विरोध प्रदर्शनहरु भएका छन्।

प्रदर्शनकारीहरुले सरकार र शहरको मुख्य विद्युत आपूर्तिकर्ता कम्पनी के-इलेक्ट्रीकलाई दोष दिंदै उसले मानिसहरुको ज्यान जोगाउने प्रयास नगरेको आरोप लगाएका हाम्रा सम्बाददाताले बताएका छन्।

प्रधानमन्त्रीले अब विद्युत कटौती नहुने घोषणा गरेका भएतापनि रमजानको आरम्भ देखि नै विजुली बन्द हुने क्रमपनि बढेको बताइएको छ।

तस्वीर कपीराइट AP

अत्यधिक गर्मी हुंदा शरिरले कस्तो प्रतिक्रिया जनाउंछ?

मानव शरिरको सामान्य तापक्रम ३७-३८ डिग्री सेल्सीयस हो।

यदि त्यो तापक्रम बढेर ३९-४० डिग्री पुग्छ भने, त्यसबेला मष्तिष्कले शरिरका मांशपेशीहरुलाई केहि सुस्त प्रतिक्रिया जनाउन निर्देशन दिन्छ र यस्तो बेला मानिसलाई गलेको अनुभव हुन्छ।

४० देखि ४१ डिग्रीमा गर्मीका कारण थकित हुने अवस्था रहन्छ र ४१ डिग्री भन्दामाथिको तापक्रममा पुगेपछि मानिसको शरिरका क्रियाहरु बन्द हुन शुरु हुन्छ।

यस्बाट शरिरभित्र अत्यावश्यक रासायनिक प्रकृयाहरु प्रभावित हुन थाल्छन्।

शरिरमा रहेका कोषहरु छिन्नभिन्न हुन थाल्छन् र "मल्टीपल अर्गान फेलिएर" भनिने शरिरका एकभन्दा बढी अंगहरुले एकैपटक काम गर्न नसक्ने अवस्था बन्न पुग्छ र मानिसको मृत्यु समेत हुन्छ।

तस्वीर कपीराइट AFP

गर्मीबाट बच्न अपनाउन सकिने उपायहरु:

  • पानीले भिजेको लुगा लगाउने, जस्ले गर्दा शरिरको तापक्रमलाई तल ओह्राल्न सहयोग पुग्छ।
  • चीसो पानीमा हात डुबाउने।
  • विजुलीको पंखालाई झ्यालको छेउमा राख्‍ने। यसो गर्दा घर बाहिरको चीसो हावा भित्र आउन सक्छ।
  • खुकुलो लुगा लगाउने।
  • चीसो पानीले भन्दा केहि मनतातो पानीले नुहाउने।
  • जीउको अरु भाग भन्दा अनुहारमा बढी पंखा चलाउने।

कराचीमा हालसम्म थाहा भएको मध्ये सबै धेरै तापक्रम ४७ डिग्री सेल्सीयस हो र सन् १९७९ मा त्यस्तो अत्यधिक तापक्रम मापन गरिएको थियो।

छिमेकको भारतमा गत महिना अत्यधिक गर्मीका कारण १७ सय मानिस मरेका थिए।