पहिरोपछि ताप्लेजुङमा स्वास्थ्य समस्या बढ्यो

  • 26 जुन 2015
तस्वीर कपीराइट Sudip AD
Image caption पहिरोको मारमा परेको ताप्लेजुङमा गत चैतमा ठूलो आगलागी लागेको थियो

पहिरोले क्षति पुर्याएका ताप्लेजुङको लिवाङ, खोक्लिङ,थिङलावु, लिङतेपलगायतको क्षेत्रका वासिन्दामा अव्यवस्थित बसाइ र स्वच्छ खानेपानीको अभावका कारण विभिन्न स्वास्थ्य समस्या देखिन थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन्।

पहिरोले गाँउको स्वास्थ्य संस्था नै बगाएपछि कतिपय गाँउका वासिन्दाहरु सामान्य औषधी उपचारबाट पनि वञ्चित छन्।

पहिरोमा पुरिएका घाइते र विरामीहरुको उपचारका लागि भन्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्राध्यापक डा.गोविन्द केसी पहिरो गएको तीन दिन पछि नै ताप्लेजुङ आइपुगेका थिए।

पहिरो प्रभावित क्षेत्रमा आएर उनले दुई दिनसम्म बसेर ताप्लेजुङका केही विरामीहरुको उपचार पनि गरे।

समस्या

तर उनी फर्किएपछि विरामी पर्न थालेका पहिरो प्रभावित क्षेत्रका कतिपय विरामीहरु अहिले आधारभुत स्वास्थ्य सेवाबाट पनि वञ्चित बनिरहेका छन्।

अझ गाँउको एकमात्र स्वास्थ्य चौकी पनि पहिरोले बगाएपछि लिवाङ गाँउका वासिन्दाहरु थप समस्यामा परिरहेका छन्।

लिवाङ मात्र नभइ पहिरो प्रभावित गाँउ खोक्लिङमा पनि झाडापखालाका विरामीहरु बढ्न थालेका छन्।

एक स्थानीय बासिन्दाले भने, "औषधि खानको लागि स्वास्थ्य चौकी पनि बगायो। टाउको दु्ख्ने, ज्वरो आउने, झाडापखाला लाग्ने समस्या हुन थालेको छ।"

गुनासो

पहिरेबाट आएको धमिलो पानी पिउने र विस्थापितहरुको बसाइ पनि अव्यवस्थित हुँदा गाँउमा विरामीको संख्या बढेको हुनसक्ने खोक्लिङ स्थित स्वास्थ्य चौकीकी अहेव रिना चौधरीको बुझाइ छ।

उनले भनिन्, “पहिरोपछि झाडापखाला, आँखामा रातो हुने र घाँटी दुख्ने समस्या देखिएको छ। दिनमा ३५/४० जना विरामी हुन थालेका छन्।”

सरकारले स्वास्थ्य चौकीबाट ३५ प्रकारका औषधी निशुल्क वितरण गर्ने भने पनि खोक्लिङ स्वास्थ्य चौकीमा हाल २२ प्रकारका मात्र औषधी उपलब्ध छन्।

जसकारण स्वास्थ्य चौकीबाट निशुल्क पाउने भनिएका सबै औषधीहरु विरामीले पाउन नसकिरहेको स्थानीय स्वास्थ्यकर्मीहरु बताउँछन् ।