देशभर मनसुन लक्षित पूर्व तयारीः गृह

  • 27 जुन 2015
तस्वीर कपीराइट devendra basnet
Image caption बाढीका कारण देशभर वर्षेनी सयौं मानिसहरुले ज्यान गुमाउनु परेको छ (फाइल फोटो)

मनसुन शुरु भएसँगै देशभर पानी पर्न थालेपछि गृह मन्त्रालयले नदीहरुले नियमित बहाव परिवर्तन नगरेमा नदीमा बढेको पानीको स्तरका कारण मानवीय क्षति हुन नदिने गरी तयारी गरिएको जनाएको छ।

बाढीको जोखिम देखिएका जिल्लाहरुका सबै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको र पूर्व सूचना दिने प्रणालीको व्यवस्थादेखि उद्धार राहतका लागि आवश्यक सामाग्री उनीहरुलाई उपलब्ध गराई सकिएको मन्त्रालयको भनाई छ।

लगातारको वर्षाका कारण महाकाली, कर्णाली, बबई, भेरी र राप्ती नदिको जलस्तर लगातार बढ्दै गएको बताइएको छ।

यी नदीहरूमा पूर्व सूचना प्रणालीमार्फत लगातार अनुगमन गर्ने र खतराको अवस्था रहे वा नरहेको सूचना नदीको आसपासका बस्तीहरुमा दिने काम भइरहेको अधिकारीहरुले बताएका छन्।

खतरा

बाढी बस्तीहरुमै पस्ने अवस्था भएमा तत्काल उद्धार र विस्थापितहरुको व्यवस्थापनका निम्ति तयारी गरिएको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दंगालले बताए।

उनले भने, “कुनै पनि नदीको स्तर खतराभन्दा माथि गएर जुनसुकै बेला पनि बस्तीहरु खाली गर्नुपर्ने हुन सक्छ भनेर सबै सुरक्षा निकाय र जिल्ला दैवी प्रकोप उद्धार समितिहरु तयारी अवस्थामा छन, ती मानिसहरुलाई आवश्यक पर्यो भने सुरक्षित स्थानमा सारेर केही समयका लागी बस्ने र खाने व्यवस्थासहितको हाम्रो तयारी छ।”

गत वर्ष बाढीबाट विस्थापित भएका मानिसहरुले जस्तो सडकमै बस्नुपर्ने अवस्था नदोहोरिन दिन सरकारका क्षेत्रीय गोदाम र नेपाल रेडक्रस सोसाईटीका गोदामहरुमा २ लाख वटा त्रिपालहरु राखिएको र आवश्यक खाद्यान्न जिल्लास्तरमै व्यवस्था गर्ने गरी जिल्ला दैवी प्रकोप उद्धार समितिलाई बजेट पठाई सकिएको मन्त्रालयको भनाई छ।

नदीले आफ्नो बहाव परिवर्तन नगरे मानवीय क्षति हुन नदिने गरि तयारी गरिएको दंगालले बताए।

मानवीय

उनले भने, “अचानक नदी मोडिएर अन्यत्रकै बस्तीमा गयो भने मानवीय क्षति हुन सक्छ तर नदी नियमित बाटोमै बग्यो भने जति ठूलो बाढी आए पनि मनवीय क्षति हुन नदिने कुरामा सफल हुन्छौँ।”

सरकारले यस्तो तयारीको जानकारी विगतमा पनि दिने गरेको तर परेको बेला उद्धार र राहतको काम समयमै नहुने गरेको पीडितहरुको गुनासो छ।

गत वर्ष भेरी र बबई नदीमा आएको बाढीका कारण हालसम्म पनि विस्थापित अवस्थामै पालमा बसिरहेका मानिसहरुले त्यहीँ पाल पाउन पनि ३ महिना कुर्नुपरेको थियो भने कतिपयले हेलिकोप्टरको अभावका कारण उद्धारको पर्खाइमा रुखहरुमा बसेर रात काट्नु परेको थियो।

यस वर्ष नेपाली सेनाको २ वटा हेलिकप्टर थपिएकाले गत वर्षको जस्तो स्थिति नआउने दाबी मन्त्रालयको छ।