‘ट्युनिसियाले करिब ८० मस्जिद बन्द गर्ने’

  • 27 जुन 2015
Image caption आक्रमणमा मारिनेहरुमा ट्युनिसिया, ब्रिटेन, जर्मनी, बेल्जियम, फ्रान्स र आयरल्याण्डका नागरिकहरु छन्

ट्युनिसियाले हिंसा फैलाउने आरोप लागेका करिब ८० वटा मस्जिदहरुलाई बन्द गर्ने प्रधानमन्त्री हबिब उस्सिदले बताएका छन्।

समुद्र किनारमा गरिएको एउटा आक्रमणमा कम्तीमा ३९ जना मारिएको एक दिनपछि प्रधानमन्त्रीको भनाई आएको हो।

राज्यको नियन्त्रण बाहिर रही सञ्चालनमा रहेका मस्जिदहरुले “विष” फैलाईरहेको भन्दै उस्सिदले एक साताभित्र त्यस्ता मस्जिदहरुलाई बन्द गरिने बताए।

शुक्रबार एकजना बन्दुकधारीले रिसोर्ट शहर सूसमा पर्यटकहरुमाथि गोली प्रहार गरेका थिए।

दाबी

आक्रमणमा मारिनेहरुमा ट्युनिसिया, ब्रिटेन, जर्मनी, बेल्जियम, फ्रान्स र आयरल्याण्डका नागरिकहरु रहेका छन्।

इस्लामिक स्टेट समूहले आक्रमण गराएको दाबी गरेको छ।

प्रहरीको गोली लागेर बन्दुकधारी मारिएका थिए।

अधिकारीहरुका अनुसार बन्दुकधारी विद्यार्थी भएपनि उनको बारेका पहिले थाहा थिएन।

प्रवर्द्धन

ट्युनिसियामा पर्यटकहरुमाथि आक्रमण गरिएको यो दोस्रो ठूलो घटना हो।

यसअघि गत मार्चमा राजधानी ट्युनिसस्थित एउटा संग्रहालयमा पर्यटकहरुमाथि लडाकुहरुले आक्रमण गर्दा २२ जना मारिएका थिए।

ट्युनिसमा आयोजित पत्रकार सम्मेलनलाई संबोधन गर्दै उस्सिदले भने, “आतंकवादलाई प्रवर्द्धन गर्न केही मस्जिदहरुले आफ्नो प्रोपोगाण्डा र विष फैलाउने कार्य जारी राखेका छन्।”

आन्तरिक मन्त्रालयले त्यस्ता मस्जिदहरुलाई बन्द गर्ने उनले जनाए।