एकीकृत मस्यौदा संविधानसभामा पेश गरिने

  • 28 जुन 2015
तस्वीर कपीराइट bal krishna thapa
Image caption नागरिकता लगायतका विषयमा चार दलबीच सहमति भएको बताइएको छ

संविधानसभाको मस्यौदा समितिले संविधानको एकीकृत मस्यौदा निर्माणको काम सकिएको भन्दै मस्यौदामा बाँकी रहेका केही विवादलाई फरक मतको रुपमा राखेर संविधानसभालाई बुझाउने सहमति भएको समितिका सदस्यहरुले बताएका छन्।

समितिको कार्यदलले बनाएको मस्यौदामाथि सदस्यहरुले फरक मत राखेपछि उत्पन्न विवादमध्ये नागरिकता लगायत केही विषयबारे ४ दलको बैठकले गाँठो फुकाएको थियो भने केही विवाद बाँकी रहेका थिए।

१६ बुँदे सहमति गरेका नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका बीचमै विवाद देखिएका विषयहरुको संख्या झन्डै दुई दर्जन रहेका थिए।

ती बाहेक अन्य दलले राखेका फरक मतहरुलाई समेत समेटेर मस्यौदालाई कम विवादित बनाउने योजनामा रहेको बताउँदै आएका ४ दलले आईतबार केही विवादित विषयलाई संविधानसभालाई छोड्दै सहमति जुटाएका थिए।

दलहरुका बीचमा भएको सहमतिका केही बुँदालाई समावेश गर्दै बाँकी विषयलाई फरक मतको रुपमा मस्यौदामा राख्ने निर्णय समितिले गरेको नेपाली काँग्रेसका सभासद गगन थापाले बताए।

उनले भने "मस्यौदामा केही परिमार्जन गरेर बाँकी रहेका सदस्यहरुले जे जति लिखित रुपमा बुझाएका मतहरु छन् तिनलाई फरक मतको रुपमा संलग्न गरेर संविधानसभामा बुझाउने निर्णय भयो। आईतबार सम्मको जुन समय हामीलाई दिइएको थियो त्यही समय भित्रै हामीले संविधानसभालाई त्यो दस्तावेज बुझाउँछौं।"

सहमति

विवादलाई सल्टाउन आईतबार बसेको ४ दलको बैठकमा नागरिकता लगायतका विषयमा सहमति जुटेको बताइएको छ।

जस अनुसार नागरिकताका सवालमा यसअघि सम्वाद समितिले भनेजस्तै बाबु वा आमाको नामबाट नागरिकता दिन सकिने सहमति भएको बताइएको छ भने प्रस्तावनामा बहुलबाद नराखिने अनि धर्म निरपेक्षताबारे थप प्रष्ट पार्ने गरी परिभाषा गर्ने सहमति भएको बताइएको छ। त्यस्तै प्रदेशहरुमा पनि समानुपातिक निर्वाचन प्रणाली अपनाउने सहमति भएको बताइएको छ।

तर संवैधानिक निकायका प्रमुखहरुको पुन: नियुक्तिको विषयलाई भने फरक मतकै रुपमा संविधानसभामा लैजाने सहमति भएको छ।

एमाले उपाध्यक्ष भीम रावलले भने "चार दलका बीचमा धैरै विषयमा सहमति भइसकेको छ। सहमति नभएका विषयहरु पनि संविधानसभामा छलफलका लागि जान्छन्।"

तयारी

मस्यौदा समितिको बैठकमा ४ दल बाहेकका अन्य दल र सभासदहरुले राखेका फरक मतहरुको टुङगो लगाउने जिम्मा पनि संविधानसभालाई दिने सहमति भएको बताइएको छ।

शनिवार देखि नै मस्यौदा आइपुग्ने भन्दै आफ्नो तयारी गरिरहेको संसद सचिवालयले समितिले मस्यौदा बुझाए लगतै छपाईको काम गर्ने गरि कर्मचारीहरुलाई तयारी अवस्थामा राखिएको जनाएको छ।

एकीकृत मस्यौदामा छलफल गर्ने गरि सोमबारका लागि संविधानसभाको बैठक बोलाइएको छ।

दलहरुले संविधान निर्माणको नियमित प्रक्रियालाई छोट्याएर संविधान जारी गर्ने बताउँदै आएका छन्। जस अनुसार लगत्तै जनताको राय सुझावका लागि मस्यौदा प्रस्तुत गर्ने योजना रहेको छ।