प्रारम्भिक मस्यौदामा एमाओवादीको असन्तुष्टि

  • 29 जुन 2015
Image caption चार दलबीच १६ बुँदे सहमति भएपछि संविधान लेखनको प्रकृयाले गति लिएको थियो

एकीकृत माओवादीले संविधान मस्यौदा समितिले तयार गरेको संविधानको प्रारम्भिक खाकामा राखिएका कतिपय प्रावधानप्रति असहमति जनाउँदै हस्ताक्षर गर्न अस्वीकार गरेको छ।

एमाओवादीलाई मनाउन सभापति कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले प्रयास जारी राखेपछि मस्यौदा समितिले सोमबार साँझ अबेरसम्म आफ्नो प्रतिवेदन संविधानसभाका अध्यक्षलाई बुझाउन सकेको थिएन।

प्रमुख दलबीच सहमति कुर्दै सोमबार दिउँसो ३ बजे बोलाइएको संविधानसभाको बैठक दुईपटक सूचना टाँसेर स्थगित भएको थियो।

संविधानका मुलभूत विषयका बारेमा १६ बुँदे सहमतिमा हस्ताक्षर गरेका दलहरुबीच प्रारम्भिक मस्यौदामा उल्लेख गरिएका कतिपय विषयमा मतभेद भएपछि संविधानसभाको सोमबारको कारवाही प्रभावित भएको हो।

कारण

संविधान मस्यौदा समितिमा रहेका एकीकृत माओवादीका सभासद रामनारायण बिडारीले सत्तापक्षीय दलहरु १६ बुँदे सहमतिको भावना विपरित विगतमा संविधानसभाले टुँग्याइसकेका कतिपय विषय मस्यौदामा राख्न तयार नभएका कारण ढिलाइ भएको बताए।

उनले भने, “यहाँ भन्दा अघिको निर्क्यौल समितिले सहमति गरेर पठाएको र संविधानसभाले पास गरिसकेको विषयमा फेरबदल गर्न पाइदैँन भन्ने कुरा उठेको छ र त्यसैमा हामी छलफल गरिरहेका छौँ।”

सत्तापक्षीय दलहरु यस अघि नै भएको सहमति अनुसार संघीय संरचनामा विशेष स्वायत्त क्षेत्र व्यवस्था गर्न र संविधानको मौलिक हक र निर्देशक सिद्धान्तको खण्डमा कतिपय सीमान्तिकृत समुदायका नाम उल्लेख गर्न तयार नभएको एकीकृत माओवादीले आरोप लगाएको छ।

विगतमा भएको सहमति उल्लंघन गरिएको भन्दै आइतबार मस्यौदा समितिले अन्तिम रुप दिएको प्रारम्भिक खाकामा एमाओवादीका सभासदहरुले हस्ताक्षर गर्न अस्वीकार गरिरहेका छन्।

आफूले उठाएका विषय सम्बोधन नभए फरक मत राखेर प्रकृया अघि बढ्न दिने एमाओवादी नेता बिडारीले बताए।

चेतावनी

उनले भने, “हस्ताक्षर भन्दा पनि हाम्रो फरक मत हुन्छ, खप्नै नसक्ने कुरा राखिए भने त हामीलाई गाह्रै हुन्छ। जस्तै बहुदलीय प्रतिस्पर्धालाई अंशोसधनीय व्यवस्था गर्ने भन्ने कुरा आएको छ, त्यो हामीलाई मान्य छैन।”

सत्तापक्षीय दलहरुले चाँहि १६ बुँदे सहमति अनुसार नै संविधानको प्रारम्भिक मस्यौदा तयार गरिएको र अहिले मस्यौदामा उल्लेख भएका कतिपय शब्दावलीका कारण उत्पन्न अस्पष्टता हल गर्न छलफल भइरहेको बताएका छन्।

नेकपा एमालेका प्रमुख सचेतक अग्नि खरेलले पछिल्लो विवाद संविधानका मूल मुद्दाहरुसँग सम्बन्धित नभएको बताए।

उनले भने, “संविधानमा लेखिने कतिपय विषयबस्तुले आम रुपमा जनतालाई सम्बोधन गर्न सकुन् भन्ने सबैको साझा चिन्ता र सरोकार छ। भरसक सबैको सर्वस्वीकार्य बनाउन छलफल चलिरहेको छ।”

मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले सिहंदरबारमा पछिल्लो विवाद हल गर्ने प्रयास गरिरहँदा सभासदहरु संविधानसभा भवनमा मस्यौदाका लागि कुरेर बसेका थिए।

१६ बुँदे सहमतिका हस्ताक्षरकर्ताहरु बीच नै बेमेल देखिएका बेला उक्त समझदारीको विरोध गरिरहेका कतिपय साना दलहरुले संविधानसभाको बैठक भित्रै पहिलो मस्यौदा च्यात्ने चेतावनी दिएका छन्।