‘ग्रीसका ब्याङ्कहरु एक साताका लागि बन्द’

  • 29 जुन 2015
तस्वीर कपीराइट EPA
Image caption ग्रीक संसदले जनमत संग्रह गराउने प्रधानमन्त्रीको घोषणालाई आइतबार अनुमोदन गरेको थियो

मुलुकमा जारी ऋण संकटबीच ग्रीक प्रधानमन्त्री एलेक्सिस सीप्रासले ब्याङ्कहरु एक साताका निम्ति बन्द रहने र पुँजीमाथि सरकारले नियन्त्रण गर्ने बताएका छन्।

युरोपेली केन्द्रीय ब्याङ्कले ग्रीकलाई प्रदान गरिंदै आएको आपतकालीन वित्तीय स्वरुपको ऋणको परिणाममा वृद्धि नगर्ने निर्णय गरेपछि सीप्रासले ग्रीसको निक्षेप सुरक्षित रहेको बताए।

ग्रीसले मंगलबारसम्ममा अन्तर्राष्ट्रिय मुद्रा कोषलाई १ अर्ब ६० करोड युरो ऋण तिर्नुपर्नेछ।

ऋण तिर्न नसके ग्रीस युरोमुद्रा प्रचलनमा रहेको युरोजोनबाट बाहिरिन सक्ने खतरा छ।

अपेक्षा

सप्ताहन्तदेखि ग्रीसका नागरिकहरु पैसा झिक्न ब्याङ्क अगाडि लामबद्ध बस्दै आएका छन्।

ब्याङ्क अफ ग्रीसले पैसा झिक्ने यन्त्रहरुलाई चालु अवस्थामा राखिराख्न “ठूलो प्रयत्न” गरिरहेको जनाएको छ।

ग्रीसका ब्याङ्कहरु जुलाइ ७ तारिखसम्म बन्द रहने अपेक्षा गरिएको छ।

त्यसको दुई दिनअघि ग्रीसमा अन्तर्राष्ट्रिय ऋणदाताहरुसँग गरिने सम्झौताबारे जनमत संग्रह गरिने छ।

एथेन्स स्टक एक्सचेञ्ज पनि सोमबार बन्द रहने छ।

प्रस्ताव

ग्रीसले वार्ता भङ्ग गरेको युरोजोनका अर्थमन्त्रीहरुको आरोप छ।

र, युरोपियन कमिसनले विरलै चाल्ने कदम अन्तर्गत युरोपियन ऋण दाताहरुद्वारा सम्झौताका निम्ति ग्रीक सरकार समक्ष सारिएका प्रस्तावहरु आइतबार प्रकाशित गरेको थियो।

ऋणदाताहरुले अघि सारेका शर्तहरु ग्रीसले “व्यवहारिक” नभएको बताएको छ र जनमत संग्रह नभएसम्म वर्तमान सम्झौताको समयावधि बढाउन आग्रह गरेको छ।

टेलिभिजनमा संबोधन गर्दै सीप्रासले भने, “छोटो समयका लागि सम्झौताको म्याद बढाउने ग्रीसको आग्रह युरोपियन मापदण्ड अनुसार अस्वीकार गर्नु अनपेक्षित छ, त्यसले निर्णय लिन पाउने सार्वभौम मानिसहरुको अधिकारमाथि प्रश्न खडा गरेको छ।”