'संविधानको मस्यौदा आज पेश हुन्छ'

  • 30 जुन 2015
संविधानसभा बैठक तस्वीर कपीराइट Balkrishna Thapa
Image caption मध्यरातसम्म पनि विवाद मिलाउने प्रयास सार्थक हुन नसकेपछि बैठकमा संविधानको मस्यौदा पेश हुन सकेन

नयाँ संविधानको मस्यौदामा संविधानसभाको मंगलबार बस्ने बैठकमा पेश हुने सत्तापक्षले जनाएको छ।

नेपाली कांग्रेसका सभासद तथा मस्यौदा समितिका सदस्य रमेश लेखकका अनुसार मस्यौदाका कतिपय प्रावधानमा देखिएको आशंका टरिसकेको छ।

उनले भने, "दलहरुबीच सोमबार अबेर राति कुरा भयो, मंगलबारको बैठकमा मस्यौदा पेश हुन्छ।"

एकीकृत माओवादीले संविधान मस्यौदा समितिले तयार गरेको संविधानको प्रारम्भिक खाकामा राखिएका कतिपय प्रावधानप्रति असहमति जनाउँदै हस्ताक्षर गर्न अस्वीकार गरेपछि सोमबारको बैठकमा मस्यौदा पेश हुन सकेन।

आरोप

प्रमुख दलबीच सहमति कुर्दै सोमबार दिउँसो ३ बजे बोलाइएको संविधानसभाको बैठक दुईपटक सूचना टाँसेर स्थगित भएको थियो।

एकीकृत माओवादीले विगतका सहमति विपरीत सम्यौदा समितिका सभापति तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले केही बुँदामा हेरफेर गरेको आरोप लगाएको छ।

त्यसकारण नै मस्यौदामा हस्ताक्षर नगरेको उसको भनाई छ।

संविधान मस्यौदा समितिमा रहेका एकीकृत माओवादीका सभासद रामनारायण बिडारीले सत्तापक्षीय दलहरु १६ बुँदे सहमतिको भावना विपरीत विगतमा संविधानसभाले टुँग्याइसकेका कतिपय विषय मस्यौदामा राख्न तयार नभएका कारण ढिलाइ भएको बताए।

मस्यौदा पेश हुन नसक्नुको कारणबारे उनले भने, “यहाँभन्दा अघिको निर्क्यौल समितिले सहमति गरेर पठाएको र संविधानसभाले पास गरिसकेको विषयमा फेरबदल गर्न पाइदैँन भन्ने कुरा उठेको हो।”

सत्तापक्षीय दलहरु यस अघि नै भएको सहमति अनुसार संघीय संरचनामा विशेष स्वायत्त क्षेत्र व्यवस्था गर्न र संविधानको मौलिक हक र निर्देशक सिद्धान्तको खण्डमा कतिपय सीमान्तकृत समुदायका नाम उल्लेख गर्न तयार नभएको एकीकृत माओवादीले आरोप लगाएको छ।

प्रतिवाद

तर कांग्रेस सभासद लेखकले भने, "सहमति विपरीत कुनै काम भएको छैन, हुन्न पनि। तर कतिपय साथीहरुको बुझाईमा समस्या देेखिएको थियो, राति अबेरसम्मको छलफलबाट बुझाईमा एकरुपता आएको छ।"

उनले आशंका गर्ने सभासद र दलहरुसँग बसेर सबैकुराबारे बु्झ्ने र बुझाउने काम भएको बताए।

आफूले उठाएका विषय सम्बोधन नभए फरक मत राखेर प्रकृया अघि बढ्न दिने एमाओवादी नेता बिडारीले बताए।

नेकपा एमालेका प्रमुख सचेतक अग्नि खरेलले पछिल्लो विवाद संविधानका मूल मुद्दाहरुसँग सम्बन्धित नभएको बताए।

१६ बुँदे सहमतिका हस्ताक्षरकर्ताहरुबीच नै बेमेल देखिएका बेला कतिपय साना दलहरुले संविधानसभाको बैठकभित्रै पहिलो मस्यौदा च्यात्ने चेतावनी दिएका छन्।