कार्बन उत्सर्जन कमी गर्ने चीनको प्रतिवद्धता

  • 30 जुन 2015
तस्वीर कपीराइट Getty
Image caption चीन विश्वमै सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने देश हो

चीनका प्रधानमन्त्री लि क चियाङले सन् २०३० को लक्षित समयसम्म राजधानी बेइजिङले देशको समग्र कार्बन उत्सर्जनलाई कटौती गर्न प्रयास गर्ने बताएका छन्।

फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलान्दसँगको भेटपछि विज्ञप्ति जारी गर्दै लि ले उक्त समयसम्ममा चीनले हरितगृह ग्यास उत्सर्जनलाई सन् २००५ को तुलनामा ६० देखि ६५ प्रतिशतले कम गर्ने आशा लिएको बताएका हुन्।

चीनको यो प्रतिवद्धता संयुक्त राष्ट्रसंघको जलवायु परवर्तनसम्बन्धी बैठकमा पेश गरिनेछ, जुन बैठककै सबैभन्दा अपेक्षित सम्झौता हुने ठानिएको छ।

विश्वमै सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने चीनले गत वर्ष नोभेम्बरमा कार्बन उत्सर्जनलाई सिमित गर्ने प्रतिबद्धता पहिलोपटक जनाएको थियो।

लक्ष्य

चीनका राष्ट्रपति सि जिनपिङले आफ्नो देशले सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जन कटौतीलाई उत्कर्षमा पुर्याउने लक्ष्य राखेको बताएका छन्।

युरोपेली संघका नेताहरु डोनाल्ड टस्क र जं क्लोड युंकरलाई सोमबार भेटेपछि ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ली ले चीनले ग्यास उत्सर्जन कटौतिबारेको प्रतिवेदन संयुक्त राष्ट्रसंघको बैठकमा पेश गर्ने बताएका थिए।

उक्त कार्यक्रम मंगलबार नै हुँदैछ।

जलवायु परिवर्तन सम्बन्धी बैठक अघि नै त्यस्तो प्रतिवेदन बुझाउन सबै देशहरुलाई आह्वान गरिएको थियो।

आशा

सन् २०२० सम्ममा विश्व तापमानवृद्धिलाई २ डिग्रि सेल्सियसमा सिमित गरि औद्योगिक क्रान्ति पूर्वको चरणमा पुर्याउने उद्देश्यका साथ उक्त सम्मेलन आयोजना गरिएको हो।

यसअघि चीन हरितगृह ग्यास उत्सर्जन कटौतीका लागि प्रतिवद्धता जनाउन अनिच्छुक बन्दा सन् २००९ मा डेनमार्कको कोपनहेगनमा भएको सम्मेलनमा सम्झौता हुनसकेको थिएन।

युरोपेली संघले त्यस बेलाको जस्तो अवस्था यो पल्ट नदोहोरियोस् भन्ने चाहेको छ।