‘जनमत संग्रहको नतिजाको सम्मान गर्छौँ’

  • 30 जुन 2015
तस्वीर कपीराइट EPA
Image caption प्रधानमन्त्री सीप्रासले जनमत संग्रहमा हुन्न भन्ने पक्षमा मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन्

ग्रीक प्रधानमन्त्री एलेक्सिस सीप्रासले जारी संकटबीच ऋणदाताहरुको प्रस्तावबारे आइतबार देशमा हुने जनमत संग्रहको नतिजाको सरकारले सम्मान गर्ने बताएका छन्।

सीप्रासले जनमत संग्रहमा हुन्न भन्ने पक्षमा मतदान गर्न मतदाताहरुलाई आग्रह समेत गरे।

तर ग्रीस युरोमुद्रा प्रचलनमा रहेको युरोजोनमै रहिरहन चाहेको उनले बताए।

अन्तर्राष्ट्रिय मुद्रा कोषलाई ग्रीसले १ अर्ब ६० करोड युरो ऋण तिर्नुपर्नेछ।

अस्वीकृत

जनमत संग्रहले ऋणदाताहरुको प्रस्तावलाई अस्वीकृत गरे त्यसको अर्थ ग्रीस युरोजोनबाट बाहिरिने हुने युरोपिय युनियनका नेताहरुले चेतावनी दिएका छन्।

जर्मन उप चान्सलर जीक्मार गेब्रिएलले आइतबारको मतदान युरोजोनको पक्षमा “हुन्छ वा हुन्न” भन्ने हुने बताए।

ऋण संकट समाधानका निम्ति ग्रीस र उसका ऋणदाताहरुबीचको वार्ता गत साता भङ्ग भएको थियो।

Image caption इयुका नेताहरुले ग्रीस युरोजोनबाट बाहिरिन सक्ने चेतावनी दिएका छन्

विकसित घटनाक्रमबीच ग्रीसले एक साताका लागि सबै ब्याङ्कहरु बन्द गरेको छ र सरकारले पुँजीमाथि नियन्त्रण गरेको छ।

प्रभावकारी

जर्मन उप चान्सलर गेब्रिएलसहित युरोजोनका अरु दुई ठूला अर्थतन्त्र भएका मुलुकका नेताहरुले युरोजोनमा रहने वा नरहने विषयमा आइतबार ग्रीक मतदाताहरुले प्रभावकारी रुपमा निर्णय गर्ने बताएका छन्।

फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ ओलान्दले ग्रीस युरोजोनभित्र रहने वा नरहने प्रमुख मुद्दा भएको बताए।

ग्रीक टेलिभिजनसँग कुरा गर्दै प्रधानमन्त्री सीप्रासले वार्ता पुनः शुरु गर्नका निम्ति सरकारलाई सशक्त रुपमा प्रस्तुत गराउन सम्भव भएसम्म जनमत संग्रहमा हुन्न भन्ने पक्षमा मतदान गर्न आह्वान गरे।

उनले भने, “उनीहरुले हामीलाई युरोजोनबाट निकाल्ने छैनन्, किनभने त्यसको चर्को मूल्य चुकाउनुपर्ने हुन्छ।”