'कृषि मन्त्रीको नियत नराम्रो थिएन'

  • 2 जुलाई 2015
तस्वीर कपीराइट bbc
Image caption धान दिवसमा कृषि मन्त्रालयले यो वर्ष वर्षा ढिला हुँदा अहिलेसम्म करिब १५ प्रतिशतमात्रै रोपाइँ भएको बताएको छ।

मंगलबार काठमाडौंको मूलपानीमा भएको रोपाइँ कार्यक्रममा त्यहाँ उपस्थित केही महिलासंग अभद्र व्यवहार गरेको भन्दै तीव्र विवादमा परेका कृषिमन्त्री हरिप्रसाद पराजुलीले दिएको राजीनामालाई बिहीबार प्रधानमन्त्रीले स्वीकृत गरेका छन्।

स्थानीय महिलालाई हिलो दलिदिएको तस्वीरहरु सञ्चारमाध्यममा आएपछि बुधबार संसददेखि सामाजिक सञ्जालसम्म मन्त्रीको चर्को आलोचना भएको थियो।

तर तस्बीरमा देखिएका कतिपय महिलाहरुले भने बिहीबार कृषि मन्त्रालयमा पुगेर आफूहरुलाई मन्त्रीले दुर्व्यवहार नगरेको बरु सञ्चार माध्यमले अतिरञ्जित गरेको बताए।

असार १५ गते मूलपानीमा आयोजना भएको धान दिवसको औपचारिक कार्यक्रमपछि खेतमा हिलो खेल्दै गरेका कृषिमन्त्रीको तस्बीर र भिडियो त्यही दिनदेखि सामाजिक सञ्जाल र अनलाइन न्यूजसाईटहरुमा छ्यापछ्याप्ती फैलिएको थियो।

आलोचना

उक्त तस्बीरमा मन्त्रीले सार्वजनिक ठाउँमै त्यहाँ मिसिनले रोपाइँ गरेको हेर्न आएका महिलाहरुमाथि दुर्व्यवहार गरेको भन्दै बुधबार संसद भित्र र उनी संलग्न पार्टीभित्र पनि कडा आलोचना भएको थियो।

तर त्यसलाई केवल सञ्चारमाध्यमले बढाइचढाइ गरेको बताउँदै आएका कृषि मन्त्रीले बिहीबार विहानै राजीनामा बुझाएपछि उनको राजीनामालाई स्वीकृत गरेको जानकारी प्रधानमन्त्रीले आफ्नो ट्वीटमार्फत दिएका थिए।

राजीनामा स्वीकृत भएको केही बेरपछि स्वंय दुर्व्यवहारमा परेको भनिएका केही महिलाहरुले भने पत्रकार सम्मेलनमार्फत त्यसको खण्डन गरेका थिए।

दुर्व्यवहार गरिएको भनिएको तस्बीरमा देखिएकी मुलपानीकी ५१ वर्षीया अन्नपूर्ण फूँयालले मन्त्री खराब नभएको बताइन्।

खण्डन

उनले भनिन्, "मन्त्रीको नियत नराम्रो नै भए त हामी बुढी मान्छेलाई भन्दा भर्खरका बहिनीलाई त्यसो गर्नुहुन्थ्यो होला। उहाँले हामी हिलो नलागेको मान्छेलाई हिलो लगाइदिएको चाहिँ हो अरु त अब फोटो खिच्नेले कसरी खिचे।"

तर सार्वजनिक पद धारण गरेका मन्त्रीले आफ्नो मर्यादा विपरित यस्तो क्रियाकलाप गर्न नहुने भन्दै धेरैले सामाजिक सञ्जालहरुमा अझै उनको विरोध गरिरहेका छन्।

उक्त कार्यक्रमका आयोजक तथा घटनामा देखिएका महिलाहरुले सो घटनालाई अतिरञ्जित पारिएको बताए पनि धेरैले मन्त्री जस्तो उच्च सार्वजनिक ओहोदामा रहेका व्यक्तिबाट गर्नै नहुने व्यवहार प्रदर्शन भएको भनी आलोचना गरेका छन्।