उत्तरपूर्वी नाइजेरियामा '१५० गैरसैनिकको हत्या’

  • 3 जुलाई 2015
नाइजेरिया तस्वीर कपीराइट BBC World Service
Image caption उत्तरपूर्वी नाइजेरियामा हिंसाको नयाँ श्रृङ्खला शुरु भएपछि हत्या र नरसंहारका नयाँ विवरणहरु आइरहेका छन्

उत्तरपूर्वी नाइजेरियामा हिंसाको नयाँ श्रृङ्खला शुरु भएपछि बोको हराम विद्रोहीहरुले बुधबार बोर्नो राज्यको कुकावा गाउँमा हमला गर्दै नरसंहार गरेका हुन्।

प्रत्यक्षदर्शीहरुका अनुसार मंगलबार देखि त्यस क्षेत्रमा हिंसा चर्किनथालेका समाचारहरु प्राप्त भएका थिए।

चाद ताल नजिकैको क्षेत्रबाट सुरक्षित स्थानतर्फ लागिरहेका प्रत्यक्षदर्शीहरुका अनुसार दशौंको संख्यामा आएका विद्रोहीहरुले बुधबार कुकावा गाउँमा हमला गर्दै महिला पुरुष तथा बालबालिकाहरुको हत्या गरेका थिए।

कतिपय प्रत्यक्षदर्शीहरुका अनुसार विद्रोहीहरुले धारिलो हतियार प्रयोग गरि पीडितहरुको घाँटी रेटेर हत्या गरेका थिए। तर अन्यको भनाइमा पीडितहरुलाई गोली हानि मारिएको थियो।

'जिहादी'

उनीहरुको भनाइमा पुरुष महिला र बालबालिकाको हत्या गरेपछि जिहादीहरुले घरहरुमा आगो लगाइदिएका थिए।

बुधबार कुकुवा गाउँमा ९७ जना मारिएको बताइएको छ।

एक जना प्रत्यक्षदर्शी बाबामी अल्हाजी कोलोले एएफपी समाचार संस्थालाई बताएअनुसार विद्रोहीहरुले मस्जिदमैं आएर हमला गरेका थिए।

“तिनीहरु हर्वारै आए र भर्खरै ब्रत तोडेर मघ्रीव प्रार्थनामा सहभागी भएका मानिसका हुलमाथि जाइ लागे। भटाभट गोलि वर्षाउन थाले र कसैलाई पनि छोडेनन्।“

त्यसअघि मंगलबार मोङ्गुनो नगर नजिकैका दुई गाउँमा विद्रोहीहरुले ४८ जना पुरुषको ज्यान लिएको विवरणहरुमा जनाइएको छ।

एक प्रार्थना सभा सकिएलगत्तै ती पुरुषहरु मारिएका थिए।

त्याहाँ महिलाहरुको समेत हत्या भएको जनाइएको छ।

मोङ्गुनो नगर हालैमात्र बोको हरामको नियन्त्रणमा गएको थियो।

मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरन्यासनलका अनुसार सन् २००९मा बोको हरामले इस्लामवादी साशन स्थापना गर्न भन्दै विद्रोह थालेयता १७ हजार अधिकांस गैरसैनिक व्यक्ती हत्या भइसकेको छ।