'कर्जादाताले ‘आतंकवादी’ शैली अपनाए'

  • 4 जुलाई 2015
तस्वीर कपीराइट Reuters
Image caption आइतबारको जनमत संग्रह अगाडि ग्रीसमा तनाव बढेको छ

ग्रीसमा हुन गैरहेको जनमत संग्रहको एक दिन अगाडि ग्रीसका अर्थमन्त्री यानीस भारुफाकिसले स्पेनको एल मुन्डो पत्रिकालाई अन्तर्वार्ता दिंदै कर्जादाताहरुले आतंकवादी शैली अपनाएको आरोप लगाएका छन्।

जनमत संग्रहमा हुन्छ भन्ने पक्षले जितोस् र ग्रीक जनतालाई अपमान गर्न पाइयोस् भन्ने तिनको इच्छा रहेको भारुफाकिसले बताए।

उनले भने, “हाम्रा बैंक बन्द गर्न किन लगाइयो? त्यो त केवल आम मानिसमा त्रास फैलाउनका लागि हो। यसरी त्रास फैलाउनुलाई आतंकवाद भनिन्छ।”

-याली

कर्जादाताहरुबाट हालको कर्जा संकटबाट मुक्ति दिलाउन राखिएका शर्तहरु ग्रीसले मान्न हुन्छ कि हुँदैन भन्नेबारे आइतबारको जनमत संग्रह अगाडी शनिबार दुबै पक्षले त्यहाँ ठूल्ठूला -याली गरेका छन्।

प्रधानमन्त्री एलेक्सीस सिप्रासको सरकारले हुँदैन भन्ने पक्षमा अभियान चलाएको छ।

तर विपक्षीहरुले चाहिं हुँदैन भन्ने पक्षले जितेमा ग्रीसलाई युरोजोनबाट बाहिर निकालिने चेतावनी दिएका छन्।

युरोपेली कमिशन, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा युरोपेली केन्द्रिय बैंकसंग ग्रीसको वर्तमान कर्जा सुविधा मंगलबारदेखि समाप्त भएको छ।

बैंकहरुको सामान्य कार्यसञ्चालन पुरै हप्ता बन्द रह्यो।

नगद झिक्नमा पनि सीमा तोकिएको छ।

अस्पष्ट

हुँदैन भन्ने पक्ष विजयी भएको खण्डमा पनि प्रधानमन्त्री सिप्रासले कर्जादाताहरुसंग सहमति गर्ने अर्थमन्त्री भारुफाकिसले जनाए।

जुनसुकै नतीजा आएपनि मंगलबारबाट बैंकहरु खुल्ने उनको भनाइ थियो।

तर सम्वाददाताहरु भन्छन्, यो विषय प्रष्ट भैसकेको छैन।

बीबीसीका एथेन्सस्थित सम्वाददाता क्रिश मोरीस भन्छन् धेरैले यो जनमत संग्रह भनेको युरोजोनमा रहने या नरहने भन्ने छनोट गर्ने रुपमा लिएका छन्।

शुक्रबार मत सर्वेक्षणले हुन्छ वा हुँदैन भन्ने दुई पक्षबीच देश बराबर बाँडिएको देखाएका थिए।

मतदानभन्दा २४ घण्टाअघि बाट त्यस्ता सर्वेक्षणहरु प्रतिवन्धित छन्।

ग्रीसका तीन मुख्य कर्जादाताहरु एथेन्सले आफ्नो ऋण दायित्व पुरा गर्न करहरु बढाओस् अनि कल्याणकारी खर्च कम गरोस् भन्ने चाहन्छन्।