ग्रीसमा जनमत संग्रहमा उल्लेख्य सहभागीता

  • 5 जुलाई 2015
तस्वीर कपीराइट EPA

ग्रीसमा, देशले अन्तर्राष्ट्रिय वित्तिय राहत सहायताका लागि ऋणदाताहरुले प्रस्तुत गरेका शर्तहरु मान्ने की नमान्ने भन्ने विषयमा भैरहेको जनमतसंग्रहमा मतदाताहरुको उल्लेख सहभागीता देखिएको छ।

लाखौं ग्रीक मतदाताहरुले जनमत संग्रहमा भाग लिएका छन्।

सरकारले मतदातालाई अन्तर्राष्ट्रिय ऋणदाताहरुले राखेका शर्तलाई मान्नु हुन्न भन्ने पक्षमा मतदान गर्न आग्रह गरेको छ।

तर, त्यस्तो शर्त मान्न हुन्छ भन्ने पक्षका हरुले, नतिजा प्रतिकुल भएमा ग्रीस युरोजोनबाट बाहिरिन सक्छ भनी सावधान गराएका छन्।

सन्देश

ग्रीसका प्रधानमन्त्री एलेक्सीस सिप्रासले मतदान गरेपछि बोल्दै भने,“आज ग्रीक जनताले कडा सन्देश दिनेछन्, सन्देश आत्मसम्मानपूर्ण र निर्णायक हुनेछ।

"त्यो सन्देशले भन्ने छ कि जनताको हातमा नै विकल्प छ। कुनै सरकारको चाहनालाई कसैले बेवास्ता गर्न सक्ला तर जनताको चाहनालाई कसैले पनि बेवास्ता गर्न सक्दैन।“

सत्ताधारी चरम वामपन्थी पार्टी सिरिज्जाले, अन्तर्राष्ट्रिय ऋणदाताहरुले वित्तिय राहत सहायताका लागि ग्रीस सामु राखेका शर्तहरुलाई अपमानकारी भनेका छन्।

तस्वीर कपीराइट Reuters

पार्टीका अग्रणी नेताहरुले, जनमत संग्रहको सहयोगी नतीजाले आफूलाई देशको विशाल विदेशी ऋणका सम्बन्धमा हुने वार्ताहरुमा थप सकारात्मक बल हासिल हुने बताएका छन्।

वैचारिक मत सर्वेक्षणका अनुसार जनमत संग्रहमा सहभागी अधिकांश ग्रीक मतदाताहरु, मतदानको नतिजा जस्तो सुकै आएपनि त्यसबाट देशले भोगी रहेको आर्थिक संकटको समाधान निस्कंदैन भन्ने विचार राख्दछन्।

पैसा

एक हप्तादेखि कडा सिमितताहरु लागु गरिएको भएतापनि कतिपय ग्रीक बैंकहरुसंग पैसा सिद्धिन लागेको बताइएको छ।

तस्वीर कपीराइट

ग्रीक राष्ट्रपति प्रोकोपीस पाभ्लोपोउलोस् ले देशमा राष्ट्रिय एकताको खांचो रहेको बताएका छन्।

युरोपेली नेताहरुले, यदि जनमत संग्रहमा हुन्न भन्ने पक्षको जीत भएमा त्यस्को अर्थ ग्रीस एकल युरोपेली मुद्रा, युरो, चलनचल्तीमा रहेको देशहरुको समूहबाट बाहिरिनु पर्ने चेतावनी दिएका छन्।

इटलीका प्रधानमन्त्री मातेओ रेन्जीले भनेका छन्, जनमत संग्रहको नतिजा जे जस्तो भएपनि युरोपेली संघले ग्रीस संगको वार्ता यसै हप्ता आरम्भ हुनु पर्नेछ।