'७ देशमा नि:शुल्क भिसा र हवाइ टिकट अनिवार्य'

  • 6 जुलाई 2015
तस्वीर कपीराइट ministry website
Image caption कामदारहरुबाट उठाएको रकमको ठूलो हिस्सा विदेशी कम्पनीहरुलाई कमिसनका रुपमा बुझाउने गरेको बताइन्छ

सरकारले नि:शुल्क भिसा र नि:शुल्क हवाइ टिकट दिने विदेशी कम्पनीलाई मात्रै नेपाली कामदार लग्न अनुमति दिने नियम सोमबारदेखि लागू गरेको छ।

उक्त नियम नेपाली कामदारहरुको ठूलो श्रम गन्तव्य मानिने मलेसिया र अन्य ६ वटा खाडी मुलुकका कम्पनीहरुका लागि लागू हुने अधिकारीहरुले जनाएका छन्।

वैदेशिक रोजगार व्यवसायीहरुले नयाँ नियमको विरोध गरेपनि वैदेशिक रोजगारीमा जान चाहने कतिपय कामदारहरुले भने उक्त नियमप्रति खुशी व्यक्त गरेका छन्।

स्वीकृति

लामो छलफलपछि विरोधमाझै घोषणा गरिएको पछिल्लो नियम लागू भएयता नि:शुल्क भिसा र हवाइ टिकट नदिने कम्पनीहरुले नेपाली कामदार लैजान पाउने छैनन्।

श्रम राज्यमन्त्री टेकबहादुर गुरुंगले भने, “धेरै नेपाली कामदार जाने सातवटा मुलुकका कम्पनीले नि:शुल्क भिसा र हवाइ टिकट उपलब्ध गराउने भएमात्रै तिनलाई पूर्व स्वीकृति दिइनेछ।"

उक्त नियम नेपाली कामदारहरु बढी लिने मुलुकहरु मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, बहराइन, साउदी अरेबिया, कुवेत र ओमानस्थित कम्पनीका लागि लागू हुने बताइएको छ।

विदेशी कम्पनीलाई कामदार उपलब्ध गराउने नेपाली म्यानपावर एजेन्सीहरुले मलेसियाका लागि ८० हजार र अन्य खाडी मुलुकका लागि ७० हजार रुपैयां लिन पाउने व्यवस्था २०६० वैशाखयता सरकारले गरिदिएको थियो।

तर पछि कतारको हकमा नि:शुल्क भिसा र हवाइ टिकट कानुनमै उल्लेख भएपछि उक्त रकम २० हजार रुपैयांमा झारिएको थियो।

नियम

नयां नियम लागू भएपछि उनीहरुले त्यस्तो कुनै पनि रकम लिन पाउने छैनन्।

तर कमिसन वापत रसिद दिएर १० हजार रुपैयांसम्म लिने पाउने ढोका भने सरकारले खोलिदिएको छ।

नयां नियमपछि नेपाली कामदारहरुले अभिमुखीकरण तालिम, कल्याणकारी कोष, स्वास्थ्य परीक्षण र बीमाका लागि मात्रै रकम तिरे पुग्नेछ, जुन ८ हजार रुपैयांको हाराहारी हुन आउंछ।

यो पछिल्लो व्यवस्थाबाट वैदेशिक रोजगारीमा जाने कामदारहरु उत्साही देखिएका छन् जसको छनक सोमबार त्रिभुवन विमानस्थलमा भेटिएका कतिपय नेपाली कामदारहरुमा पनि पाइयो।

विरोध

वैदेशिक रोजगार व्यवासीहरुले भने सरकारको पछिल्लो नियम अव्यवहारिक भएको भन्दै कडा विरोध जनाएका छन्।

श्रम गन्तव्य मुलुकहरुले उक्त नियमका कारण नेपाललाई न्यून प्राथमिकतामा राख्दै नेपाली कामदार लिनै बन्द गर्ने खतरा रहेको उनीहरुले चेतावनी दिए।

कतार र मलेसियाले यसअघि प्रतिवन्धित मुलुक बंगलादेशबाट सयौं कामदार लिने निर्णय गरेर त्यस्तो छनक दिइसकेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कुमुद खनालले बताए।