जनमत संग्रह पछि नयाँ प्रस्तावको अपेक्षा

  • 6 जुलाई 2015
Image caption ग्रीसका बहुसंख्यक जनताले अन्तर्राष्ट्रिय ऋणदाताहरुका शर्तहरुलाई अस्वीकार गरीदिएका छन्

युरोपेली अर्थमन्त्रीहरुले ग्रीसमा भएको जनमत संग्रहको नतिजाले अन्तर्राष्ट्रिय ऋणदाताहरुद्वार राखिएका शर्तहरुलाई निर्णायक रुपमा नै अस्वीकार गरेपछि अब आफुहरुले नयां प्रस्तावको अपेक्षा गरेको बताएका छन्।

युरोजोन क्षेत्रका अर्थमन्त्रीहरुको समूहका प्रमुख, यरुन डाइसलब्लुमले जनमत संग्रहको नतिजाले स्थितिलाई अप्ठ्यारो बनाइदिएको जनाए।

तर उनले ग्रीसलाई युरोजोनको सदस्यका रुपमा कायमै राख्‍नु उनी स्वयं र ग्रीसको पनि लक्ष्य रहेको बताए।

आइतबारको जनमत संग्रहमा अन्तर्राष्ट्रिय कर्जादाताहरुले ग्रीसलाई आर्थिक संकटमा सघाउन थप वित्तीय राहत सहायता प्रदान गर्नु अघि पालना गर्नु पर्ने भनी प्रस्तुत शर्तहरुलाई अस्वीकार गरिएपछि देशले सामना गर्नु पर्ने कठोर वास्तविकता विस्तारै स्पष्ट हुंदैछ।

प्रगति

सबैभन्दा मुख्य विषय भनेको ग्रीसका बैंकहरु खुल्न सक्छन् कि सक्दैनन् भन्ने रहेको छ।

त्यो सबै युरोपेली केन्द्रीय बैंकमाथि निर्भर रहनेछ।

तर युरोपेली केन्द्रीय बैंकले ग्रीसले आफ्नो देशको अर्थतन्त्रलाई समर्थन पुग्नेगरी युरोजोन क्षेत्रका आफ्ना साझेदारहरुबाट अर्बौं युरो बराबरको कर्जा प्याकेज हासिल गर्ने दिशामा कस्तो प्रगति हासिल गर्छ त्यो हेरेर मात्र निर्णय गर्न सक्छ।

बीबीसीका संवाददाता डेमियन ग्रामाटिकस भन्छन्, युरोपेली आयोगका उपाध्यक्ष भाल्डीस डोम्ब्रोभ्स्कीसले युरोपेली अर्थमन्त्रीहरुको बैठकले हरियो संकेत नदिएसम्म उक्त विषयमा नयां वार्ता हुन नसक्ने बताइसकेका छन्।

नेदरल्याण्ड्सका अर्थमन्त्री तथा ग्रीसलाई वित्तीय राहत सहायता प्रदान गर्ने वार्ताहरुको अध्यक्षता गरिरहेका यरुन डाइसलब्लुमले ग्रीसको जनमत संग्रहको नतिजाले स्थितिलाई झन जटिल बनाइदिएको बताएका थिए।

प्रतिक्षा

जर्मन चान्सलर एंगेला मर्केलका एकजना प्रवक्ताले एकल युरोपेली मुद्रा युरोको सदस्य बनिरहने कि बाहिरिने भन्ने निर्णय ग्रीसको नै भएको बताए।

अब युरोपले ग्रीसको माग के हुने हो भन्ने प्रतिक्षा गरिरहेको छ।

मंगलबार युरोजोनका नेताहरुको आपत्कालिन बैठक बस्दैछ।

एकजना ग्रीक सरकारी अधिकारीले सो बैठकमा ग्रीसका प्रधानमन्त्री एलेक्सीस सिप्रासले नयां प्रस्तावहरु प्रस्तुत गर्ने बताएका छन्।