‘मस्यौदा सबै निर्वाचन क्षेत्रमा लैजान कठिन’

  • 7 जुलाई 2015
संविधानको मस्यौदा
Image caption केहि दिनअघि पेश मस्यौदालाई छलफलपछि सुझाव संकलनका लागि जिल्लाहरु जाने तयारी सम्बन्धित समितिले थालेको छ

संविधानसभामा छलफलपछि संविधानको मस्यौदा जनतामा लैजान १५ दिनको समयाअवधि पाएको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले उक्त समयभित्र वर्षाको मौसमका कारण मस्यौदा लिएर सबै निर्वाचन क्षेत्रमा पुग्न गार्ह्रो हुने जनाएको छ।

कम्तीमा २१ दिनको समय माग गरेको समितिले निर्वाचन क्षेत्रमा पुग्न सक्ने अवस्था नदेखिए जिल्ला सदरमुकाममै छलफल गर्ने सोच बताएको बताइएको छ।

संविधान निर्माणको कार्यतालिकामा मस्यौदा माथि छलफल गर्ने भनेर २ महिनाको छुट्याइएको थियो।

नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले त्यहीँ अनुसारको तालिका पनि बनाएको थियो।

प्रक्रिया

तर प्रमुख दलहरुबीच प्रक्रिया छोट्याएर द्रुत प्रक्रियामा संविधान जारी गर्ने सहमति भएपछि सभाअध्यक्ष सुवास नेम्वाङले समितिका सभापतिलाई आईतबार बोलाएर प्रतिवेदन बुझाउने सहितको १५ दिनको समय दिइएको जानकारी दिएका थिए।

जनतामा छलफल गर्नका लागि १ महिनाको समय आवश्यक पर्ने भन्दै राजनितिक नेतृत्वसँग लविङ गरेका समितिका सदस्यहरुले १५ दिनको समय कम हुने बताएका छन्।

समितिकी सभापति प्रमिला राणाले भनिन, "एउटा त भुकम्पै भयो, मध्य वर्षाको समय छ, अलि लामो समय भए त सजिलै हुन्थ्यो, त्यसो नहुँदा टाउको दुखाई भएको छ, कम्तीमा २१ दिन मात्रै दिएको भएपनि हुन्थ्यो।"

जिम्मेवारी पाए लगतै गृह कार्यमा जुटेको समितिले मस्यौदलाई जनतामा लैजानका लागि गरिने छलफलको तालिका र कार्यविधि तयार गर्ने बताइएको छ।

'प्रतिकुल'

हालसम्म २ सय ४० वटै निर्वाचन क्षेत्रमा पुग्ने लक्ष्य राखिएको भए पनि मौसम अनुकुल नभए जिल्ला सदरमुकाममै मस्यौदामाथिको छलफल गरिने सभापति राणाले बताइन्।

उनले भनिन्, "सकेसम्म हामी २ सय ४० निर्वाचन क्षेत्रमै पुग्ने कार्यक्रम बनाउछौँ, क्षेत्रमा पुग्न नसक्ने माननीयज्यूहरुको सदुरमुकाममै जनतालाई सहभागी बनाएर त्यही गर्नुहुन्छ।"

व्यवस्थापिका संसदमा बजेटमाथि हुने छलफलका कारण मस्यौदा लिएर जिल्ला जाने काम प्रभावित हुने भएकाले बजेटमाथिको छलफल सकेर जिल्ला जाने तयारीमा रहेको समितिको भनाइ छ।

१६ बुँदे सहमतिपछि संविधान निर्माणको प्रक्रिया छोट्याउँदा मस्यौदामाथि जनताले पर्याप्त छलफल गर्न नपाउने भएको भन्दै कतिपय दल र नागरिकस्तरबाट आलोचना भइरहेको छ।