वित्तीय राहतका लागि ग्रीसको औपचारिक अनुरोध

  • 8 जुलाई 2015
तस्वीर कपीराइट Getty
Image caption यसअघि ग्रीक प्रधानमन्त्रीले युरोपलाई विभाजित हुन नदिन आग्रह गरेका थिए

ग्रीसले युरो मुद्रा प्रचलनमा रहेका देशहरुलाई उपलब्ध विशेष सहायता कोष, युरोपीयन स्टाविलिटी मेकानिजम्, बाट तीन बर्षे वित्तीय राहतका निम्ति औपचारिकरुपमा अनुरोध गरेको छ।

यो नयां वित्तीय राहत हासिल गर्ने दिशा तर्फको पहिलो कदम हो, जुन आइतबार सम्ममा पुरा भइसक्नु पर्नेछ।

ग्रीक प्रधानमन्त्री एलेक्सीस सिप्रासले उनको सरकारले बिहीबार युरोजोन पनि भनिने युरो मुद्रा प्रचलनमा रहेका देशहरुसामु सुधारका विश्वसनीय र ठोस योजनाहरु प्रस्तुत गर्ने बताए।   युरोपेली संसदमा ग्रीक कर्जा संकटका सम्बन्धमा चलेको विभाजनकारी बहसका क्रममा बोल्दै ग्रीक प्रधानमन्त्री एलेक्सीस सिप्रासले त्यस्तो बताएका हुन्।

आग्रह

टाट पल्टिने अवस्थाबाट जोगिन र एकल युरोपेली मुद्रा प्रचलनमा रहेको क्षेत्रबाट बाहिरिनु पर्ने सम्भावनालाई टार्न ग्रीसलाई तेस्रो चरणको वित्तीय राहत सहायता अति जरुरी परेको छ।

युरोपेली नेताहरुले पनि वित्तीय राहत लिने हो भने ग्रीसले ‌ बिहीबारसम्म सुधारका गम्भीर योजनाहरु तयार पार्नुपर्छ भनेका छन्।

अन्तर्राष्ट्रिय ऋणदाताहरुको पछिल्लो प्रस्तावलाई जनमत संग्रहमा ग्रीक जनताले अस्वीकार गरेको केही दिनपछि ग्रीक प्रधानमन्त्रीले युरोपेली संसदलाई सम्बोधन गरेका थिए।

मंगलबारको बैठकमा ग्रीसले नयां प्रस्ताव पेश गर्न नसकेको भनी युरोपका कतिपय नेताहरुले आक्रोश व्यक्त गरेका थिए।

योजना

त्यस्तो आक्रोश युरोपेली संसदमा भएको बहसका बेला पनि अभिव्यक्त भएको थियो।

आइतबार युरोजोनका १९ वटा मात्रै नभई समग्र युरोपेली संघका २८ वटै सदस्य राष्ट्रका नेताहरुको आपतकालीन शिखर बैठक बस्ने भएको छ।

यसैबीच युरोपेली आयोगका अध्यक्ष जं क्लोड युंकरले ग्रीस युरोजोन क्षेत्रबाट बाहिरिएको अवस्थाका निम्ति भनेर वैकल्पिक योजनाहरु तयार गरिसकिएको जनाएका छन्।