‘ग्रीक संकट अन्त्य गर्न पाँच दिन बाँकी’

  • 8 जुलाई 2015
जर्मन चान्सलर मर्केल तस्वीर कपीराइट EPA
Image caption जर्मन चान्सलरले ग्रीक जनताको निर्णयसँगै इयुका अन्य सदस्य राष्ट्रका निर्णय पनि उत्तिकै महत्वपूर्ण हुने बताएकी छिन्

युरोमुद्रा प्रचलनमा रहेको युरोजोनका नेताहरुले ग्रीसको संकटको प्रभाव पूरै यूरोपमा पर्न सक्ने बताउदै ग्रीक सरकारलाई बिहिबारसम्म कर्जा संकट समाधान गर्नका लागि नयाँ प्रस्ताव पेश गर्न भनेका छन्।

ग्रीक प्रधानमन्त्री एलेक्सिस सिप्रासले चाहिँ आफू “सामाजिक हिसाबले उपयुक्त” र “आर्थिक दृष्टिले व्यवहारिक” सम्झौताको पक्षमा रहेको बताएका छन्।

आइतबार आयोजना हुने युरोपेली संघ इयुको पूर्ण सम्मेलनको सभापति एवं युरोपेली परिषद्का प्रमुख डोनाल्ड टस्कले ग्रीसलाई दिइएको पछिल्लो म्याद नै अन्तिम हुने बताए।

उनले सहमति जुटाउन अब पाँच दिन मात्र बाँकी रहेको बताए।

'छलफल'

ब्रसेल्समा बोल्दै जर्मन चान्सलर एन्गेला मर्केलले ग्रीक जनताको निर्णयसँगै इयुका अन्य सदस्य राष्ट्रका निर्णय पनि उत्तिकै महत्वपूर्ण हुने बताइन्।

“हामी एउटा सदस्य देशको जनमत संग्रहको निर्णयलाई सम्मान गर्छौ तर अर्कोतिर १८ वटा देशहरु छन् जसले राजनीतिक छलफल गर्नुपर्ने हुन्छ।”

“युरोकोबारेमा निर्णय लिनु पर्दा १९ सदस्य राष्ट्रहरुले छलफल गर्नुपर्ने हुन्छ।”

ग्रीसलाई अहिले महिनौंदेखिको संकट समाधान गर्नका लागि विस्तृत प्रस्ताव लिएर आउन भनिएको छ।

ग्रीसले अब सुधारका मागहरुलाई सम्बोधन गर्नेतिर लाग्नुपर्ने देखिन्छ।

अहिले ग्रीस सरकारले आन्तरिक दबाबहरु झेलिरहेको छ भने अर्कोतिर युरोपेली नेताहरुले पनि दबाबहरु झेलिरहेका छन्।

'परिणाम'

युरोपेली आयोगका अध्यक्ष जँ क्लाउड युन्करले चाहिँ इयु ग्रीस एकल मुद्रा प्रचलनमा रहेको देशबाट बाहिरिनेदेखि सबै परिणामको लागि समेत तयार रहेको बताएका छन्।

बीबीसीका युरोप सम्वाददाता क्रिस मोरिस आफ्नो विश्लेषणमा लेख्छन्, मंगलबार साँझको खाना खाने बेला ग्रीक प्रधानमन्त्री एलेक्सिस सिप्रासले ग्रीक जनमत संग्रहपछिको आफ्नो चाहनाबारे कुराकानी गरेका थिए।

त्यस क्रममा उनले आफू ऋणदाताका धेरै शर्तहरु मान्न तयार रहेको संकेत दिएको उनी उल्लेख गर्छन्।

मोरिस् भन्छन् “तर त्यसको बदलामा सिप्रासले युरोजोनबाट तेस्रो पटक ऋणमोचन, देशको सार्वजनिक कर्जा क्षेत्रको पुनर्सरचना र आर्थिक वृद्धिका लागि केही कदमहरु आवश्यक रहेको बताएका थिए।”