ढुवानी नहुँदा राहतको चामल झापामै थन्कियो

  • 8 जुलाई 2015
Image caption बोलपत्र आह्वान गरेर भूकम्प प्रभावित क्षेत्रमा चामल पुर्याउन केही महिना लाग्ने देखिन्छ

वैशाख अन्तिम सातामा बंगलादेशले पठाएको करीब ६० प्रतिशत राहतको चामल झापाका गोदामहरुमा अहिले पनि थन्किएको अवस्थामा छ।

सरकारले ढुवानी गर्ने व्यवस्था ढिलो गरेका कारण उक्त चामल थन्किएको स्थानीय सरकारी अधिकारी बताउँछन्।

भूकम्प प्रभावित क्षेत्रका कतिपय सर्वसाधारण खाद्यान्नको पर्खाइमा रहेका बेला बंगलादेशले पठाएको चामल भूकम्प प्रभावित क्षेत्रमा पुग्न अझै केही समय लाग्ने खाद्य संस्थानका अधिकारीहरु बताउँछन् ।

वैशाखको अन्तिम साता छिमेकी मुलुक बंगलादेशबाट राहत स्वरुप पठाएको चामल नेपाल आइपुग्यो।

थन्कियो

पूर्वी नाका काँकडभिट्टा हुँदै करिब १० हजार मेट्रिक टन चामल विर्तामोड र चन्द्रगढीस्थित नेपाल खाद्य संस्थानका गोदाममा थन्काइए।

अलि अलि गर्दै भूकम्प प्रभावित स्थानमा ति चामल पठाउने काम सरकारले गर्यो।

तर करिब ६० प्रतिशत चामल अहिले पनि झापाका खाद्य गोदाममै थन्किएको छ।

नेपाल खाद्य संस्थान अञ्चल कार्यालय मेचीका प्रमुख मार्कण्डेयप्रसाद जयस्वालले भने, “सुरुमा जुन किसिमको जिल्ला प्रशासन कार्यालयबाट भूकम्प प्रभावित जिल्लाहरुमा चामल पठाउन आदेश आयो त्यो अनुसार पठाइसकेका छौं। अहिले त ढुवानीको समस्याले खाद्यान्न यहीँ छ। ढुवानी सुरु गर भनेर निर्देशन आएपछि म त्यही अनुसार गर्छु।”

जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार अहिलेसम्म काठमाण्डू, लाहान, काभ्रे, गोरखा, नुवाकोट, धादिंग, चितवन, मकवानपुर, कास्की, तनहुँ, धनकुटा, सिन्धुली, दोलखा, रामेछाप तथा रसुवा चामल पठाइसकिएको छ।

तर करिब ६ हजार मेट्रिक टन चामल अहिले पनि थन्किएको अवस्थामा छ।

समस्या

झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले पूर्वमा समेत प्राकृतिक प्रकोप हुनेक्रम रहेकाले केही चामल यतै सञ्चित गरिने समेत बताए।

उनले भने, “अहिले पनि विपद आइरहेको अवस्था छ त्यसको लागि केही सञ्चित यता पनि गरिनेछ। त्यसबाहेक गृहमन्त्रालयले जहाँको लागि निर्देशन दिन्छ त्यहाँ हामीले पठाउने हो।”

नेपाल खाद्य संस्थानका विक्री वितरण शाखाका प्रमुख श्रीमणि खनालका अनुसार अब रहेको चामल सरकारी नियम अनुसार मात्र ढुवानीको व्यवस्था मिलाइने छ।

उनले भने, “आपतकालीन अवस्थामा त जसरी जहाँ पुर्याउनुपर्ने त्यसैगरि पुर्यायौं तर अब त सहज अवस्था आइसकेपछि नियमकानुन अनुसार नेपाल सरकारले जहाँजहाँ पुर्याउनु भन्छ त्यहीँत्यहीँ पुर्याउने काम नै हो हाम्रो।”

खनालले केही दिनमा ढुवानीका लागि बोलपत्र आह्वान गरिने बताए।

नेपाल खाद्य संस्थान अञ्चल कार्यालय मेचीका प्रमुख जयस्वालका अनुसार बंगलादेशबाट प्राप्त राहतको चामललाई सञ्चित गर्न समेत उत्तिकै समस्या छ।

उनले समय समयमा प्राविधिकले चामल विग्रे नविग्रेको हेर्नुपर्ने र चामल विग्रन नदिने उपाय अपनाउनु पर्ने भएकाले चाँडो भूकम्प प्रभावित क्षेत्रमा चामल पुर्याउन आवश्यक रहेको बताए।