ग्रिसद्वारा सुधारका नयाँ प्रस्ताव पेस

  • 10 जुलाई 2015
ग्रिस उपभोक्ता तस्वीर कपीराइट AFP
Image caption ग्रिसले करको दायरा बढाउने, निर्वृत्तीभरणमा सुधार गर्ने, खर्च कटाउने र निजीकरण गर्ने प्रस्ताव गरेको छ

ग्रिस सरकारले अन्तर्राष्ट्रिय ऋण दाताहरुबाट तेस्रोपटक कर्जा संकट समाधानको लागि नयाँ प्रस्तावहरु पेस गरेको छ।

युरोजोनका अर्थमन्त्रीहरुको समुहका प्रमुख जेरोन डिसेल्बोएमले ग्रिसका योजनाहरुलाई विस्तृत रुपमा अध्ययन गरिने बताए।

युरोजोनका नेताहरुले ग्रिसको संकट समाधानबारे सहमति जुटाउनको लागि आइतबारसम्मको समयसीमा तोकेका छन्।

युरोपेली आयोग, केन्द्रिय बैंक र आइएमएफका प्राविधिक विशेषज्ञहरुले ग्रिक सरकारले पेस गरेको सुधारको योजनालाई राम्ररी केलाएर अध्ययन गर्दैछन्।

कदमहरु

ग्रिसले करको दायरा बढाउने, निर्वृत्तीभरणमा सुधार गर्ने, खर्च कटाउने र निजीकरण गर्ने प्रस्ताव गरेको छ।

गत आइतबार भएको जनमत संग्रहमा अस्वीकृत कदमहरुमाथि अब पुनर्विचार हुने सम्भावना छ।

ब्रसेल्सस्थित बीबीसीका क्रिस मरिस भन्छन्, “यो कदम ग्रिस सरकारका धेरै समर्थकलाई पचाउन सजिलो नहुन सक्छ किनभने करको दर बढाउने र १२ अर्ब युरो बराबरको खर्च कटाउने प्रस्ताव गरिएको छ।”

त्यसको मतलब प्रधानमन्त्री एलेक्सीस् सिप्रासले घुँडा टेकिसकेका छैनन्।

सुधारको प्रस्तावको बदलामा उनले गत महिना दिइने भनिएको भन्दा बढी मागिरहेका छन्।

ग्रिसले अब युरोजोनबाट नयाँ तीन वर्षे ऋण संकट समाधानको योजना, आर्थिक वृध्दी सुनिश्चित गर्न थप सहायता र ठूलो ऋणभारको पुनर्संरचनाको माग गरिरहेको छ।

त्यसप्रति अहिले आइएमएप अमेरिकी ट्रेजरी र युरोपेली परिषदका प्रमुख डोनाल्ड टस्कले समर्थन जनाइसकेका छन्।

तथापी थुप्रै वाधाहरु बाँकी छन् र सिप्रासले पनि देशभित्र थुप्रै दबाबको सामना गरिरहेका छन्।

ग्रिस प्रस्तावहरुलाई आज संसदमा अनुमोदनका लागि पेस गरिंदैछ।