सर्बियाका प्रधानमन्त्रीमाथि हमला

  • 11 जुलाई 2015
सर्बियाका प्रधानमन्त्री तस्वीर कपीराइट AP
Image caption स्मृति सभामा भाग लिन आएका सर्बियाका प्रधानमन्त्रीमाथि ढुंगा प्रहार गरिएको थियो

स्रेब्रेनिचामा भएको आम नरसंहारको बीस वर्ष पुगेको संझनामा आयोजित स्मृति सभामा दशौं हजार मानिसहरुले भाग लिएका छन्।

उनीहरु सन् १९९५ मा तत्कालिन युगोस्लाभिया टुक्रिएपछि बोस्नियाली सर्ब सैनिकहरुले झण्डै आठ हजार मुसलमानहरुको आमहत्या गरेको बोस्नियाली नगरमा भेला भएका थिए।

पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले मेलमिलापकालागि आह्वान गरेका छन्।

बोस्नियामा आम नरसंहार भएको बीस वर्ष पछि पनि अझै घाउहरु पुरिएका छैनन्।

स्मारक

स्मृति समारोहमा भाग लिन आएका सर्बियाका प्रधानमन्त्री अलेक्जेण्डर भुसिचले एउटा स्मारकमा फूल माला चढाए।

तर उनको विरोध गर्दै एउटा क्रुद्ध भीडले नारावाजी गरेको थियो।

उनीमाथि ढुंगा प्रहार गरिएपछि उनी फर्किएका थिए।

सर्बियाले बोस्नियाली सर्बहरुलाई समर्थन गरेको थियो। पछि उनीहरुले हजारौं बोस्नियाली मुसलमान पुरुष तथा किशोरहरुको हत्या गरेका थिए।

समारोहमा भाग लिन आएका भूतपूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले बोस्नियाली युद्ध टुँग्याउन लामो समय लागेकोमा क्षमायाचना गरे। उनले मेलमिलापकालागि आह्वान पनि गरे।

उनले स्मृति सभामा भाग लिन आएकोमा सर्बियाली प्रधानमन्त्रीको प्रशंसा पनि गरे।

कठघरा

एउटा खुला पत्रमा सर्बियाका प्रधानमन्त्री भुसिचले उनकै शब्दमा ती जघन्य अपराधको निन्दा गर्दै दोषीहरुलाई कानुनको कठघरामा उभ्याउने बताएका छन्।

तर उनले आफ्नो पत्रमा ‘जेनोसाइड’ वा जातीय आम नरसंहार भन्ने शब्द चाहिं प्रयोग गरेका छैनन्।

बीस वर्ष अघि सन् १९९५ को जुलाई महिनामा बोस्नियाली सर्ब सैनिकहरुले गोलावारी केही समयकालागि रोकेपछि हजारौं बोस्नियाली मुसलमान शरणार्थीहरु स्रेव्रेनिचातर्फ भागेका थिए।

त्यसपछि बोस्नियाली सर्ब कमाण्डर रात्को म्लादिच स्रेव्रेनिचा प्रवेश गरेर मुसलमानहरुलाई हतियार बुझाउन चेतावनी दिएका थिए।

उनीहरुले झण्डै तेइस हजार महिला तथा केटाकेटीहरुलाई मुसलमान बहुल क्षेत्रतर्फ पठाएका थिए।

तर १२ बर्षदेखि ७७ वर्षसम्मका पुरुषहरुलाई भने सोधपुछकालागि भन्दै रोकेका थिए।

शरण

बोस्नियाली सर्बहरुले बन्धक बनाइरहेका चौधजना डच शान्ति सैनिकहरुलाई रिहा गरीदिएपछि संयुक्त राष्ट्र संघ अन्तर्गत डच शान्तिस्थापक सैनिकहरुले आफ्नो अखाडामा शरण लिइरहेका झण्डै पाँचहजार मुसलमानहरुलाई उनीहरुको जिम्मा लगाएका थिए।

त्यस लगत्तै बोस्नियाली सर्बहरुले मुसलमानहरुको आम नरसंहार शुरु गरेका थिए।

तत्कालिन बोस्नियाली सर्ब कमाण्डर रात्को म्लादिच तथा बोस्नियाली सर्ब नेता रादोभान कारादिच दुबै जना अहिले थुनामा छन् र उनीहरु विरुद्ध अन्तर्राष्ट्रिय फौज्दारी अदालतमा छुट्टाछुट्टै मुद्दा चलिरहेको छ।

तर बोस्नियाली युद्धताका हजारौं मुसलमान पुरुष तथा किशोरहरुको ज्यान बचाउन नसकेको भनी राष्ट्र संघ तथा पश्चिमा मुलुकहरुको आलोचना हुने गरेको छ।