यसपालीको आर्थिक वृद्धि अनुमानको आधामात्रै

  • 12 जुलाई 2015
तस्वीर कपीराइट bbc
Image caption आर्थिक सर्वेक्षणले वृद्धिदरका साथै राजस्व संकलनमा पनि कमी आउने देखाएको छ

सरकारले आईतबार संसदमा पेश गरेको २०७१/७२ को आर्थिक सर्वेक्षण अनुसार यसपालीको आर्थिक वृद्धिदर अपेक्षा गरिएको ६ प्रतिशतको तुलनामा आधा मात्रै अर्थात तीन प्रतिशतमा झर्ने देखाएको छ।

खासगरी कृषि क्षेत्रमा मौसमी प्रतिकुलता अनि गैरकृषि क्षेत्रमा भूकम्पका कारण परेका असरहरुले गर्दा आर्थिक वृद्धि न्युन हुन पुगेको बताइएको छ।

फेहरिस्त

अर्थ मन्त्री रामशरण महतले संसदमा पेश गरेको आर्थिक सर्वेक्षणले भूकम्पका कारण अर्थतन्त्रमा परेको असरहरुको फेहरिस्त प्रस्तुत गरेको छ।

भूकम्पबाट भएको क्षतिको प्रारम्भिक अनुमान अनुसार पुनर्निर्माण र नवनिर्माणका लागि करीब ६ खर्ब ७० अर्ब रुपियाँ लाग्ने अनुमान छ। जसमध्ये सबभन्दा धेरै सामाजिक क्षेत्र मा ४ खर्ब भन्दा बढी लाग्ने सर्वेक्षणको अनुमान छ।

आर्थिक वर्षको अन्ततिर आइपुग्दा आएका भूकम्पले पूरै अर्थतन्त्र खलबलाइदिएको सर्वेक्षणमा दिइएका आँकडाहरुले देखाउँछन्।

घाटा

आयातका तुलनामा निर्यात नगन्य हुने क्रम यस वर्ष पनि जारी रहेको देखिन्छ। यस वर्षको आठ महिनाको आँकडा अनुसार व्यापार घाटा अघिल्लो वर्षभन्दा १३ प्रतिशतले बढी ४ खर्ब ५० अर्ब रुपियाँ पुगेको छ।

सोही अवधिमा नेपाली कामदारहरुले विदेशबाट पठाएको रेमिटेन्स रकम ३ खर्ब ७१ अर्ब रुपियाँ पुगेको देखिन्छ।

सरकारी खर्च र राजस्वका हकमा सर्वेक्षणले प्रस्तुत गरेको चित्र बारे अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनी भन्छन्, “बजेटमा भनिएको भन्दा केवल ८५ प्रतिशतमात्रै सरकारी खर्च हुने देखिन्छ। त्यस्तै राजस्व संकलन ४२२ अर्ब हुने ठानिएकोमा ३९० अर्ब वा ९२ प्रतिशतमात्रै हुने भयो।”

उपलब्धि

सर्वेक्षणले शिक्षा, स्वास्थ्य जस्ता सामाजिक क्षेत्रमा उपलब्धि भएको उल्लेख गरेको छ।

त्यसबारे पुडासैनीले भने, “साक्षरताको दर र स्कूल भर्नाको दर बढेको अनि स्कूल छाड्ने दर घटेको छ। बाल मृत्युदर र मातृस्वास्थ्यमा सुधार भएका छन्।”

यस वर्षको आर्थिक वृद्धि कम भएपनि आगामी वर्ष पुनर्निर्माण कार्यमा धेरै खर्च गर्ने सम्भावना भएकाले उक्त वृद्धि दर बढ्ने सरकारको आशा छ।

पुनर्निर्माणबारे विस्तृत कार्यक्रमहरु पर्सि मंगलबार प्रस्तुत गरिने भनिएको आगामी आर्थिक वर्षको बजेटमा समेटिने बताइएको छ।