स्थानीय निकायको चुनाव गर्ने आयोगको तयारी

  • 13 जुलाई 2015
Image caption अहिले मतदाताको कूल संख्या झन्डै एक करोड ३० लाख पुगेको यादवले बताए

एक वर्ष भित्रमा सरकारले स्थानीय निकाय निर्वाचन गर्ने भनेर नीति तथा कार्यक्रममा पारेको भए पनि त्यसका लागि राजनीतिक सहमति अहिलेसम्म हुन सकेको छैन।

तर निर्वाचन आयोगले भने स्थानीय निर्वाचनको तयारीका कतिपय काम सकेको निर्वाचन आयोगका एकजना आयुक्तले बताएका छन्।

उनले आगामी माघ महिनाको १५ गतेदेखि निर्वाचन गराउने उद्धेश्यका साथ निर्वाचन आयोगले काम गरिरहेको बताए।

सरकारको नीति तथा कार्यक्रममा एक बर्ष भित्र गर्ने भनिएको स्थानीय निकायको निर्वाचन आगामी माघ महिनाको १५ गतेदेखि गर्ने गरि निर्वाचन आयोग त्यसको तयारीमा लागेको निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले बताए।

तयारी

उनले भने, "एउटै चरणमा गर्न सकिँदैन विभिन्न चरणमा गराउन पर्ने हुन्छ। त्यसको लागि उपयुक्त समय माघको १५ गतेपछि हुन्छ।"

स्थानीय निकायमा मतदाताले चुनेर पठाएको प्रतिनिधि नभएको अवस्थामा सर्वसाधारणका काम प्रभावकारी हुन नसकेको गुनासाहरु आइरहेका बेला निर्वाचन आयोग स्थानीय निकाय निर्वाचनको गृहकार्यमा लागेको यादवले बताए।

उनका अनुसार अद्यावधिक गरेको मतदाता रुजु गर्ने, मतदाताको परिचयपत्र बनाउने लगायतका काम निर्वाचन आयोगले गरिरहेको छ।

साथै विगतका निर्वाचनमा मतदाता शिक्षाको कमी भएकैले धेरै मतपत्रहरु रद्ध भएका कारण अब आउने स्थानीय निकाय निर्वाचनका लागि मतदाता शिक्षा समेत सञ्चालन भइरहेको यादवले बताए।

माग

स्थानीय निकाय निर्वाचनलाई मध्यनजर गरेर निर्वाचन आयोगले निर्वाचन आचार संहिता समेत तयार गरिसकेको यादवको भनाई छ।

उनले यसअघिको संविधानसभाको निर्वाचनमा छुटेका मतदाताहरुको नामावली अद्यावधिक गर्ने काम समेत निर्वाचन आयोगले गरिसकेको बताए।

विदेशमा रहेका मतदाता नामावलीमा छुट भएका नेपाली नागरिकलाई मतदाता नामावलीमा समावेश गर्ने विषयमा पनि सरकारसंग बजेट माग गरिसकिएको निर्वाचन आयुक्त यादवले बताए।

तर निर्वाचनका लागि गरिने कतिपय काम अहिलेसम्म स्थानीय निकाय निर्वाचनका लागि कानुन नबनेकाले गर्न नसकिएको यादवको भनाई छ।