आइपीएलका २ टीमलाई २ वर्षसम्म प्रतिवन्ध

  • 14 जुलाई 2015
तस्वीर कपीराइट AFP
Image caption राजस्थान रोयल्सका सहमालिक राज कुन्द्रा बलिउड नायिका शिल्पा शेट्टीका श्रीमान हुन्

एउटा भ्रष्टाचार प्रकरणमा भारतीय सर्वोच्च अदालतको समितिले बहुचर्चित इण्डियन प्रिमियर लिग क्रिकेटका दुई प्रमुख टीमलाई दुई वर्षका लागि प्रतिवन्ध लगाएको छ।

अवैध सट्टाबाजी र खेलको परिणाम प्रभावित पार्ने गरी हुने म्याच फिक्सिंगमा चेन्नाइ सुपर किंग्स् र राजस्थान रोयल्स दोषी पाइएपछि उक्त प्रतिवन्ध लगाइएको हो।

सर्वोच्च अदालतको एउटा समितिले राजस्थन रोयल्सका सहमालिक राज कुन्द्रा र चेन्नाइ सुपर किंग्सका सहमालिक गुरुनाथ मैयप्पनलाई जीवनभरका लागि क्रिकेटसम्बन्धी गतिविधिमा सामेल हुन प्रतिवन्ध लगाएको छ।

पूर्व प्रधानन्यायधीश राजेन्द्र लोधा नेतृत्वको तीन सदस्यीय उक्त समितिको सिफारिश वाध्यकारी हुनेछ तर त्यसलाई अदालतमा चुनौती दिन सकिने बताइएको छ।

टिप्पणी

समितिले यी दुई टिमको गतिविधिले क्रिकेट खेल स्वच्छ छ कि छैन भन्ने शंका जनतामा सिर्जना गरेको र क्रिकेट, भारतीय क्रिकेट बोर्ड बीसीसीआइ र आइपीएलको छविमा दाग लगाएको टिप्पणी गरेको छ।

पछिल्लो घटनाक्रम आठवटा टीम रहेको आइपीएलका लागि ठूलो धक्का भएको ठानिएको छ र यदि यिनलाई प्रतिस्थापन गर्ने टिम नभेटिए आइपीएललाई ठूलो घाटा हुने आकलन गरिएको छ।

बीबीसीका निकेश रुघानी भन्छन्, "६ वटा टिममात्रै रहेपनि आइपीएल भारतीय क्रिकेटलाई नियमित आम्दानी दिने माध्यम भइरहनेछ। तर पछिल्लो घटनाले भारतीय क्रिकेटमा मात्रै होइन विश्व क्रिकेटलाई नै असर पार्नेछ किनकी अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को अधिकांश पैसा भारतबाटै आउने गर्छ।"

२० ओभरका अन्तर्राष्ट्रिय क्रिकेट लिगमा सबैभन्दा धनी लिग आइपीएल हो।

जीत

हरेक वर्ष अप्रिल महिनामा हुने यो प्रतियोगितामा प्रख्यात भारतीय र विदेशी क्रिकेट खेलाडी खेल्ने गर्छन्।

चेन्नाइ सुपर किंग्स् भारतीय क्रिकेट टीमका क्याप्टेन महेन्द्र सिंह धोनीको नेतृत्वमा छ भने राजस्थान रोयल्स अष्ट्रेलियाली ब्याटसम्यान स्टिभ स्मिथको नेतृत्वमा।

सन् २०१० र २०११ मा गरी दुई पटक प्रतियोगिताको उपाधि जितेको चेन्नाइ चार पटक फाइनलमा पुगेको छ।

राजस्थानले भने सन् २००८ मा सुरु आइपीएलको पहिलो प्रतियोगिता जितेको थियो।